विराटनगर ४ फागुन । एभरेष्ट सकेण्डरी स्कुल विराटनगर ५ ले भोलि देखि ‘एभरेष्ट कार्निभल २.०’ शुरु गर्दै छ । गतवर्ष देखि शुरु भएको कार्निभल फागुन ५ देखि ७ गते सम्म सञ्चालन हुने प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिनुभयो ।
कार्निभलमा विद्यार्थीले बर्षभरि सिकेका विषयबस्तुहरुलाई परियोजना कार्यको प्रर्दशनी सहित विभिन्न गतिविधिहरुको प्रस्तुती रहने आज आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल पुरीले बताउनुभयो । १० वटा विधामा स्कुलमा अध्ययनरत २ हजार ५ सय विद्यार्थीलाई समेटिएको उहाँको भनाई छ ।
कार्निभल उद्घाटनका दिन कक्षा २ देखि ५ सम्मका विद्यार्थीले प्रस्तुति गर्ने बताईएको छ । फागुन ६ गते विद्यालय भित्रका विद्यार्थीहरुवीच प्रस्तुति रहने र अन्तिम दिन फागुन ७ गते कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीले तयार पारेको प्रविधियुक्त परियोजनाको कार्यहरु बृहत विज्ञान प्रदर्शनीमा राखिने प्रिन्सिपल पुरीले जानकारी दिनुभयो ।
अन्तिम दिनको कार्यक्रममा एभरेष्ट सिङ्गिङ आइडलको ग्राण्डफिनाले हुने उहाँले बताउनुभयो । प्रिन्सिपल पुरीका अनुसार ग्राण्डफिनालेमा १५ उत्कृष्ट प्रतियोगिहरुले प्रस्तुति दिने छन् । कार्निभलमा विभिन्न परियोजनाको प्रदर्शनी, आर्ट ग्यालरी, पुस्तक प्रदर्शनी र खानाका स्टलहरु पनि रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
विराटनगरमा ३० वर्षदेखि स्कुलले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल पुरीले बताउनुभयो । उहाँले एभरेष्ट स्कुल कोशी प्रदेशकै उत्कृष्ट विद्यालयका रुपमा ख्याती कमाउन सफल भएको पनि दावी गर्नुभयो । उहाँले वर्तमान शिक्षा सीप, संस्कार र प्रविधियुक्त हुनुपर्ने बताउनुभयो । विभिन्न १० वटा विधामा दक्ष प्रशिक्षकसहित एभरेष्ट स्कुलले निरन्तर अभ्यास गराउँदै आएको बताएको छ ।
अतिरिक्त कृयाकलापमा प्रत्येक विद्यार्थीले आ– आफ्नो रुचि अनुसारको कम्तिमा एक र बढीमा दुईवटा विधामा अनिवार्य सहभागिता जनाउनुपर्ने व्यवस्था मिलाइएको स्कुलले जनाएको छ ।