विराटनगर १५ फागुन । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु सभापति रोहित यादवले एमाले उम्मेदवार ढकाललाई जिताउन जेनजी यूवालाई आग्रह गर्नु भएको छ ।
निर्वाचनको चुनावी अभियान अन्र्तगत आज क्याम्पस पुगेर नेता ढकालले स्ववियु सभापति यादवलगायतसँग क्याम्पसको अवस्था र सुधार गर्नुपर्ने पक्षमा राय लिनुभएको थियो ।
स्ववियु सभापति यादवले मोरङ– ६ मा धेरै उम्मेदवार भएपनि यसरी आएर राय लिने उम्मेदवार उहाँ मात्र रहेको भन्दै असल नेतालाई जिताउन सम्पूर्ण जेन्जी साथीहरुसँग आग्रह गर्नुभयो ।
एमाले उम्मेदवार ढकालले विगतका अधुरा काम पूरा गर्नेदेखि लिएर महेन्द्र मोरङ क्याम्पसको मुहार फेर्न समेत पहलकदमी लिने बताउनुभयो । उहाँले युवाहरु माझ आफू सधैं नजिक रहेको बताउनुभयो ।
यसैवीच महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका निवर्तमान सचिव सनिम ठकुरीसहितका दर्जनौं नेता एमालेमा प्रवेश गरेका छन् । अनेरास्ववियुले आयोजना गरेको एक कार्यक्रममा युवाहरु एमाले प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई उम्मेदवार विनोद ढकाल तथा नेकपा एमालेका नेता पूर्वमन्त्री लालबाबु पण्डितलगायतले स्वागत गर्नुभयो ।
पार्टी प्रवेशको नेतृत्व लिनुभएका सनिम ठकुरीले क्षेत्रको विकास र युवा विद्यार्थीको भावना बुझ्ने नेता विनोद ढकाल नै भएको बताउनुभयो । उहाँले नेकपा एमाले समाजका सबै वर्गका जनताको हित गर्ने पार्टी रहेको समेत बताउनुभयो ।
उम्मेदवार ढकालले आफूले अघि सारेका प्रतिवद्धतालाई घर घर सम्म र्पुयाएर नेकपा एमालेले खेलेको भूमिका र खेल्ने भूमिकाको विषयमा अवगत गराउन आग्रह गर्नुभयो ।
एमाले नेता लालबाबु पण्डितले युवा पुस्ता बरालिने नभई लगनशिल हुनुपर्ने बताउनुभयो । सधैंभरि बरालिने ब्यक्ति कहिल्यै सफल नहुने भन्दै नेकपा एमालेसँग जोडिएका यूवा लगनशिल हुनुपर्ने बताउनुभयो ।