विराटनगर १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ ।
निर्वाचन हुन ६ दिन मात्रै रहेकाले कुनै हल्लाकाे पछि नलाग्न उहाँको आग्रह छ । निर्वाचन सुरक्षाबारे स्थलगत भ्रमणका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित शुक्रबार विराटनगर आउनु भएका भएका गृहमन्त्री अर्यालले पत्रकारसँगकाे कुराकानीमा विगतकाे भन्दा राम्रो निर्वाचन हुने दावी गर्नुभयाे ।
गृहमन्त्री अर्यालले निर्वाचनको सुरक्षा एकीकृत सुरक्षा याेजना अनुशार भइरहेकाे बताउनुभयो । नेपाली सेनाले सुरक्षा याेजना अनुसारनै १६५ वटेै निर्वाचन क्षेत्रमा मतपेटिका, मतपत्र पुर्याएकाे उहाँले बताउनुभयो । सुरक्षा याेजना अनुसार केन्द्रमा गृहमन्त्री, प्रदेशमा प्रदेश प्रमुख सचिव र जिल्लामा प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा निर्वाचन सुरक्षाकाे काम भइरहेको गृहमन्त्री अर्यालले बताउनुभयाे ।
निर्वाचन आचारसंहिता कार्यान्वयन राम्रोसँग भइरहेको गृहमन्त्री अर्यालकाे दाबी छ । उहाँले नागरिक सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयाे । आचारसंहिता पालना नगर्ने कारवाहीकाे भागिदार बन्ने गृहमन्त्री अर्यालले बताउनुभयो ।