मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका सनम तामाङको उपचारका क्रममा मृत्यु

विराटनगर १४ । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।

कारागार प्रशासनका अनुसार मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको बुधबार राति ज्यान गएको हो ।

कारागार प्रशासक गौरव ढुंगेलका अनुसार तामाङलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति करिब १० बजेतिर विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बुधबार राति पौने ११ बजेतिर उनको मृत्यु भएको जानकारी कारागार प्रशासनले दिएको छ ।

ढुंगेलका अनुसार स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेका तामाङले यसअघिदेखि नै नियमित औषधि सेवन गरिरहेका थिए । तर, पछिल्लो पटक अचानक श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि तुरुन्त अस्पताल पुर्‍याइएको थियो ।

तामाङ लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका कैदी थिए । उनलाई जिल्ला अदालत मोरङले २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

अदालतको आदेशपछि २०८१ असोज १६ गते कारागार चलान गरिएका उनी २०८३ साल माघ २७ गते सजाय अवधि पूरा गरी रिहा हुने थिए । तर, सजाय अवधि पूरा नहुँदै उनको मृत्यु भएको हो ।

कारागार प्रशासनका अनुसार स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि तामाङलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको थियो ।

बिहीबार बिहानै रेफर गर्ने योजना बनाइए पनि त्यसअघि नै उपचारकै क्रममा मृत्यु भएको ढुंगेलले बताए ।

मृत्युको जानकारी प्राप्त हुनासाथ परिवारका सदस्य तथा आफन्त कारागारको सम्पर्कमा आएका छन् । मृतकको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ ।

जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय ७५ जना कैदीबन्दी छन् । तीमध्ये १ सय २ जना महिला कैदी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण स्वास्थ्य सेवा र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताइएको छ ।