निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा

विराटनगर १२ फागुन । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निर्वाचन आयोगले मतदानमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न र सुरक्षा तथा व्यवस्थापनमा सहजता ल्याउन सरकारलाई बिदाका लागि आग्रह गरेको थियो ।

आयोगको सोही सिफारिसका आधारमा सरकारले निर्वाचनको अघिल्लो दिन, निर्वाचनको दिन र त्यसको भोलिपल्टसम्म बिदा दिने निर्णय गरेको हो । यस बिदाको अवधिमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय र शिक्षण संस्थाहरू बन्द रहनेछन्। धेरैजसो मतदान केन्द्रहरू विद्यालयमा राखिने र कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले पनि बिदा दिइएको हो ।

सरकारको यस निर्णयले टाढा–टाढा रहेका मतदाताहरूलाई आफ्नो गाउँ फर्किएर मतदान गर्न पर्याप्त समय मिल्ने विश्वास लिइएको छ ।