सिंहदरवार जलाउने गौतमलाई उन्मुक्ति दिने निर्णय

विराटनगर ११ फागुन । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले २४ भदौको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा २२ माघमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय गरेको छ ।

कार्यालयले गौतमविरुद्व मुद्दा दायर गर्ने आधार र कारण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त निर्णय सदरमा लागि उच्च सरकारी वकील कार्यालय पाटनमा पठाएको छ । उनले सिंहदरबार जलाएको भनेर सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेका थिए । उनलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले म्याद दिएर थुनामा राखेर अनुसन्धान पनि भएको थियो । उनले सिंहदरबरमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका थिए । चितवनका गौतमको उक्त भिडियोकै आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि वढाएको थियो ।

प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका गौतम चितवन खैरहनी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२९ अनामनगरका बसोबास गर्दै आएका थिए । उनले भिडिओमा भनेका थिए, ‘सिंहदरबारको गेट तोडेरभित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’ उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप समेत गरिएको थियो ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले गौतमविरुद्ध मुद्दा चलाउनका लागि प्रमाण नपुगेकाले उक्त निर्णय भएको र सदरका लागि उच्च सरकारी वकील कार्यालय पठाएको जानकारी दिनुभयो ।