विराटनगर १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नं. ४ का उम्मेदवार गुरुराज घिमिरेले ३९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । मतदानको १० दिन अघि उम्मेदवार घिमिरेले सोमबार साँझ प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो ।
उम्मेदवार घिमिरेले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषिलाई प्राथमिकता दिँदै प्रतिबवद्धता सार्वजनिक गर्नुभएको हो । प्रतिबद्धता पत्रमा घिमिरेले विराटनगर – १९ वैजनाथपुरमा रहेको खेलमैदानलाई गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहित अन्य खेलका लागि सु–सम्पन्न समेत भौतिक पूर्वाधारको विकास गरी खेलकुद ग्राम वनाउने, सामुदायिक तथा आधारभूत विद्यालयहरूमा अंग्रेजी माध्यमको पठनपाठनको कार्यलाई अगाडि वढाइनुका साथै सूचना प्रविधिमैत्री बनाई ई–लाईब्रेरीको संचालन गरिने, सुनसरी मोरङ सिंचाई योजना अन्तर्गत मूल नहरको वाटोमा सुनसरीको खनारदेखि मोरङको केरौनसम्म आवश्यक स्थानहरूमा पक्की पुलहरूको निर्माण सहित कालोपत्रे गरिने प्रतिबद्धता जनाउनु भएको छ ।
ग्रामथान ५ तेतरियामा अवस्थित ग्रामथानलाई सरियाधामी थारुजातिको संग्रहालयको विकास गरिनुका साथै यस क्षेत्रका ग्रामथानहरूको संरक्षण र भौतिक पूर्वाधारयुक्त बनाईने, हुरहुरियाको लोहन्द्रा खोलामा पक्की पुल निर्माण र तटबन्ध निर्माण, साधुटोलदेखि धोवियारे, सिमरिया, लखन्तरी, मिलनचोक, महेशपुर हुँदै कटहरी हाटखोलासम्मको सडक स्तरोन्नति सहित कालोपत्रे गरिने, ग्रामिण क्षेत्रका हरेक एक वडामा सुविधा सम्पन्न सामुदायिक भवन, व्यवस्थित खेल मैदान, सार्वजनिक पार्क, सार्वजनिक पुस्तकालय स्थापना गरिने घिमिरेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
भूमिहीनहरूका लागि व्यवस्थित बसोबासको ठोस पहल गरिने, विभिन्न स्थानहरूमा वाचनालय, विश्रामालय, पुस्तकालयका साथै ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्रहरू स्थापना र संचालनमा जोड दिइने, विराटनगर रिङरोड विस्तारको क्रममा देखिएको समस्या समाधानका लागी सर्वपक्षीय छलफल गरी समाधान गरिने घिमिरेले प्रतिबद्धता जनाउनु भएको छ ।
कृषि उपजलाई आवश्यक पर्ने रसायनिक मल र विउविजनको सहज उपलब्धता गराउन आवश्यक पहल गरिने, सिंघिया नदीको बाढीले वर्षेनी पुर्याउने क्षति र पीडाको दिगो समाधानका लागि तटवन्ध र करिडोर निर्माणमा ठोस योजना ल्याइने, विभिन्न स्थानहरूमा आवश्यक पर्ने साना कल्भर्ट, पक्की पुल र झोलुङ्गे पुलहरूको व्यवस्थाका लागि आवश्यक पहल गरिने, विभिन्न गुरुकुल, पाठशालाहरू, आयूर्वेद केन्द्रहरू, ध्यान–योग केन्द्रहरू, मदरसाहरू, गुम्वाहरू, चर्चहरू आदिको आवश्यकतानुसार स्तरोन्नति गरिनेउहाँले प्रतिबद्धता जनाउनु भएको छ ।
हरि–दुर्गा घिमिरे प्रतिष्ठानबाट यस क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा कक्षा १ मा भर्ना हुने विद्यार्थीहरू मध्ये १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई आगामी वर्षदेखि छात्रवृत्ति दिइने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको सुविधायुक्त विमानस्थलको रुपमा विकास गरिने, विराटनगर महानगरपालिका तथा आसपासका क्षेत्रमा देखिने वार्षिक डुबानको समस्याहरूलाई दीर्घकालीन गुरुयोजना मार्फत समाधान गरिने, कृषि उत्पादनको संरक्षण र बजार सहजीकरण गर्नका लागि आवश्यक शीतभण्डार र बिक्री केन्द्रहरूको व्यवस्था गरिने, नवप्रवर्तनलाई प्रोत्साहित गर्ने युवा उद्यामीहरूलाई बिना धितो ऋणको व्यवस्था मिलाउन पहल गरिने छ र नवयुवाहरूलाई स्वरोजगारमुलक तालिम मार्फत उद्यमशीलता विकास गर्न पहल गरिने घिमिरेले प्रतिबद्धता जनाउनु भएको छ ।