विराटनगर ११ फागुन । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर घुँडाको चोटपछि पुनः शल्यक्रियाको तयारीमा रहनु भएको छ । पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी उनले उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।
भण्डारीका अनुसार यसअघि गरिएको एसीएल शल्यक्रियामा हालिएको ग्राफ्ट तथा एमसिएल दुवैमा गम्भीर चोट लागेको छ, जसका कारण जटिल पुनःशल्यक्रिया आवश्यक परेको छ ।
अघिल्लो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उपचार व्यवस्थापन सहज भएको भए पनि यसपटक वाचा गरिएको सहयोग नपाएको उहाँको गुनासो छ । एन्फा अध्यक्षले प्रशासनिक सहयोग सम्भव नभएको जनाउँदै पाँच लाख रुपैयाँसम्म नगद सहयोग गर्ने बताएको उनले उल्लेख गर्नुभएको छ ।
यसअघि उहाँको उपचार कतारस्थित एक अस्पतालमा गरिएको थियो। चोट गम्भीर रहेकाले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा रहेको उहाँले बताउनु भएको छ । क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने तयारी गरे पनि शल्यक्रिया र ७–८ महिनाको पुनस्र्थापनाका लागि आवश्यक करिब ८० हजार अमेरिकी डलर खर्च अपुग हुने देखिएको छ ।
हाल न्युजिल्यान्ड र अष्ट्रेलियामा क्लब फुटबल खेल्दै आएकी भण्डारीले देशका लागि सधैं शतप्रतिशत दिएको र आगामी दिनमा पनि नेपालको जर्सी लगाएर फर्कने दृढता व्यक्त गर्नुभएको छ । उहाँले नेपाल तथा विदेशमा रहेका समर्थकलाई बैंक, क्यूआर कोड तथा अनलाइन लिंकमार्फत सहयोग गर्न आग्रह गर्नुभएको छ ।