सिजुवा १० फागुन । १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रतुवामाई नगरपालिका–६ स्थित सौँठा माध्यमिक विद्यालयमा आइतवार भव्यताका साथ सुरूआत गरिएको छ ।
रतुवामाई नगरपालिकाका मेयर एवम् प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नागेश्वर प्रसाद सिंहले फागुन १०, ११ र १२ गतेसम्म चल्ने तीन दिवसीय प्रतियोगिताको उद्घाटन गर्दै आगामी दिनमा नगरपालिकाबाट प्रतियोगिताका लागि थप बजेट विनियोजन गरिने बताए ।
बालबालिकाको खेलप्रतिको लगाव र चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एउटा अवसर भएकाले सोही अनुसार नगरपालिकाले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित बनाउने मेयर सिंहले बताए । प्रतियोगिता केवल विद्यालयमा सम्पन्न गरिने एउटा वार्षिक गतिविधिमात्र नभइ उत्सवका रूपमा मनाउने गरी तयारी गर्न शिक्षक र कर्मचारीलाई मेयर सिंहले आग्रह गरे ।
उपमेयर दमयन्ता चुडालले बालबालिकाले घरपछि सबैभन्दा बढी समय विद्यालयमा बिताउने भएकाले र उनीहरूलाई लागु औषधको कुलतबाट बचाउन विद्यालयले विशेष निगरानी गर्नुपर्ने बताइन । उनले पछिल्ला दिनमा विद्यालय समयमा लागु औषध सेवन गर्नेृ बालबालिकाको सङ्ख्या बढ्दै गएकाले त्यसतर्फ समेत शिक्षकसहित अभिभावक सचेत हुनुपर्ने बताइन ।
उद्घाटन सत्रको पहिलो दिनको खेलमा लङ्ग जम्प छात्रतर्फ अरुन कुमाल सरस्वती मावि कादुपाडा, सुदीपकुमार सदा सरस्वती मावि कल्याणपुर र सेमन तामाङ मुनाल आर्दश बोर्डिङ क्रमश प्रथम, द्धितिय र तृतीय भएको शिक्षक अशोककुमार तामाङले बताए ।
सोही प्रतियोगिताको छात्रातर्फ एलिमा राजवंशी सिजुवा मावि, अमृताकुमारी माझी सरस्वती मावि कल्याणपुर र दामिनी सहनी राइजिङ बोर्डिङ स्कूल क्रमश प्रथम, द्धितिय र तृतीय भए ।
छात्रतर्फ ८ सय मिटर दौडमा करण सिंह मुनाल आर्दश बोर्डिङ, दीपक राजवंशी सुनवर्षी मावि र विवेक परियार सरस्वती मावि इटहरा क्रमश प्रथम, द्धितिय र तृतीय भए ।
सोही प्रतियोगिताको छात्रातर्फ आरती मगर सरस्वती मावि इटहरा, मनिका पासवान सुनवर्षी मावि र अञ्जली शाह मुनाल आर्दश बोर्डिङ क्रमश प्रथम, द्धितिय र तृतीय भए ।
सटपुट छात्रातर्फ निशा राउत जनता मावि ठकठकिया, अमिशा ताजपुरिया मुनाल आर्दश बोर्डिङ र उर्मिला तामाङ सुनवर्षी मावि क्रमश प्रथम, द्धितिय र तृतीय भए । सोही प्रतियोगिताको छात्रतर्फ रविन तामाङ महेन्द्र मावि देवीस्थान, रोशन नेपाली सरस्वती मावि इटहरा र कृष्ण साह दाम्राभिट्टा एकेडेमी क्रमश प्रथम, द्धितिय र तृतीय भएको शिक्षक अशोककुमार तामाङले बताए ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षाप्रेमी र समाजसेवीलगायतको उपस्थिति थियो । प्रतियोगितामा रतुवामाई नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको सौँठा माविका लेखापाल धर्मराज पोखरेलले बताए । तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन सत्रमा विभिन्न विद्यालयले झाँकीसहित सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरेका थिए ।