अर्किड कलेजद्धारा एक सय बढी विद्यार्थी सम्मानित

विराटनगर १२ फागुन । अर्किड कलेज विराटनगरले एक सय बढी विद्यार्थीलाई नगद सहित सम्मानित गरेको छ ।

कलेज परिसरमा आज आयोजित विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कक्षा ११ र १२ को आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याउने, आन्तरि तथा बाह्य खेलकुद प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरु, बक्तृत्वकला, हाजिरीजवाफ, म्याराथन लगायतका प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीलाई नगद सहित सम्मानित गरिएको हो ।

कक्षा ११ र १२ मा कलेज लिएको आन्तरि परीक्षामा प्रथम, दोश्रो र तेश्रो भएका प्रशान्त धामी, प्रतिक काफ्ले, उपेश सदाय,उदयकुमार सोनार, दिपकुमार दास, समिर घिमिरे, तेजिना चौधरी, पिंकीकुमारी महतो, शंकर चौहान, परिणाम बुढाथोकी, अशोककुमार मण्डल, हस्तबहादुर बुढाक्षेत्रीलाई कलेजले नगद सहित सम्मानित गरेको पिन्सीपल मनिश भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा भारतमा आयोजित सुटिङवल वल्र्डकप २०२६ मा दोश्रो भएर रजत पदक प्राप्त खेलाडी दिपिका माझी, तेश्रो हुने सुश्मिता कामत, हिसान स्पोर्टस् मिटको २ सय मिटर दौडमा जिल्ला प्रथम निरुता राजवंशी, एक सय मिटरमा जिल्ला प्रथम शर्मिला मोक्तान, महिला फुटवलमा उपविजेता टोलीलाई पनि सम्मान गरिएको प्रिन्सीपल भट्टराईले बताउनुभयो ।

विद्यार्थीलाई कलेजका अध्यक्ष अमित ढकाल, निर्देशक दिपेश बास्तोला,राजन दत्त, गजेन्द्र पण्डित, दुर्जेय थापा, प्रिन्सीपल भट्टराईले सम्मानित गर्नु भएको थियो । विज्ञान, कम्प्युट साइन्स, व्यवस्थापन र होटल ब्यवस्थापनमा गरि १ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको कलेजका निर्देशक दिपेश वास्तोलाले जानकारी दिनुभयो ।

खेलकुद, अतिरिक्त क्रियाकलाप, आन्तरिक परीक्षा, बोर्ड परीक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान कार्यक्रमले उनीहरुलाई प्रोत्साहन र अन्य विद्यार्थीलाई पनि उत्प्रेरणा हुने भएकाले बार्षिक रुपमा सम्मानित तथा पुरस्कृत गर्ने गरिएको उहाँले बताउनुभयो ।