विराटनगर २२ फागुन । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना न्यौपानेले निकटतम प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतान्तरले जित हात पारेकी छन् ।
उनले १५ हजार ४सय ५५ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाएका छन् । राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ४८ हजार ४ सय ८९ मतदाता थिए । तीमध्ये करिब २८ हजार मत खसेको थियो । १० प्रतिशत ल्याउने उम्मेदवारले २ हजार ८ सय मत ल्याउनुपर्ने थियो । नेकपा एमालेका उम्मेदवारसहित अन्य २६ उम्मेदवारको जमानत जफत हुने भएको छ ।
एमाले उम्मेदवार मोहनराज रेग्मी १ हजार ६ सय १८ मत पाएका थिए । उनी र उनीपछिका सबै उम्मेदवारको जमानत जफत हुने देखिएको छ । उज्यालो नेपाल पार्टीका मोहनराज रेग्मी,श्रम संस्कृति पार्टीका समिर तामाङ लामा, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीसहित जमानत जफत हुने देखिन्छ ।
खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ ।