कोशी प्रदेशमा रास्वपा १६, श्रम संस्कृति ४, एमाले ३ र कांग्रेस एक क्षेत्रमा अगाडी

विराटनगर २२ फागुन । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रहरु मध्ये अहिले २६ निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

इलाम १ र खोटाङमा भर्खरै शुरु भएकाले मतगणनाको प्रारम्भिक विवरण आउन बाँकी छ । मतगणना जारी भएका अन्य २४ निर्वाचन क्षेत्रहरु मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी १६ वटा क्षेत्रमा अगाडी छ । झापा, मोरङ र सुनसरीका १५ वटै निर्वाचन क्षेत्र र उदयपुर १ मा रास्वपाको अग्रता छ । रास्वपाले शुरुवात देखि नै अग्रता कायम गर्दै गएको छ । उसको अग्रतामा फराकिलो अन्तर छ ।

श्रम संस्कृति पार्टीले ४ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । पाँचथरमा हस्तराज शेर्मा, भोजपुरमा ध्रवराज राई, धनकुटामा सानबहादुर राई र उदयपुर २ मा बलराम राईले अग्रता कायम गरेका छन् ।

नेकपा एमालेले इलाम २ मा सुहाङ नेम्वाङ, तेर्हथुममा भानुभक्त ढकाल र ओखलढुङ्गामा अस्मिता थापाले अग्रता कायम गरेका छन् । नेपाली कांग्रेस गजेन्द्रप्रसाद लिम्वुले ताप्लेजुङमा अग्रता कायम गरेका छन् ।

सोलुखुम्बु र संखुवासभामा मतगणना शुरु भएको छैन । सोलुखुम्बुको सर्वदलिय बैठक भर्खरै सकिएको छ । राती ८ वजेबाट मतगणना शुरु गर्ने सहमति भएको प्रहरी प्रमुख मनोजित कुँवरले जानकारी दिनुभयो ।

संखुवासभामा आज मतगणना नहुने भएको छ । मौसम सुधार नभएका कारण एक मतदान स्थालको मतपेटिका सदरमुकाम आउन बाँकी छ । मौसममा भोलि सुधार भए हेलिकोप्टर मार्फत सदरमुकाम ल्याएर मतगणना शुरु हुने संखुवासभाका प्रहरी प्रमुख कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।