विराटनगर २२ फागुन । ताप्लेजुङमा मतगणनाका विषयमा विवाद उत्पन्न भएको छ ।
निर्वाचनमा धाँधली भएको भन्दै रास्वपाले उजुरी हालेपछि मतगणनामा अन्यौल उत्पन्न भएको हो ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४, लिङतेपस्थित मतदान केन्द्रमा अस्वाभाविक मतदान भएको भन्दै रास्वपाले धाँधलीको आरोप लगाएको हो ।
रास्वपाका उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले उक्त केन्द्रमा ‘बुथ कब्जा’ गरिएको दाबी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्।
रास्वपाले देशभर औसत ५१ प्रतिशत मतदान भएको अवस्थामा लिङतेपमा मात्रै ८८ प्रतिशत मत खस्नुले धाँधली पुष्टि हुने जिकिर गरेको छ।
उम्मेदवार श्रेष्ठले निर्वाचनअघि नै सो क्षेत्रमा बुथ कब्जा हुन सक्ने सम्भावनाबारे प्रमुख निर्वाचन आयुक्तलाई सचेत गराएको समेत उल्लेख गरेका छन्।
ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले भने रास्वपाको निवेदन दर्ता गर्न नसकिने स्पष्ट पारेका छन्। मतदानको समयमा कुनै अवरोध वा धाँधली भएको भए त्यही बेला उजुरी दिएर प्रक्रिया रोक्नुपर्नेमा अहिले मतपेटिका प्राप्त भइसकेपछि आएको निवेदनको कानुनी आधार नहुने उनको तर्क छ।
आज बिहान १० बजे बसेको सर्वदलीय बैठकमा उम्मेदवार श्रेष्ठले सो विषय उठाएका थिए। उजुरी दर्ता नगरिएपछि उनले निवेदनको एक प्रति कार्यालयमै छाडेर हिँडेका छन्। निर्वाचन कार्यालयले भने प्रक्रियाअनुसार नै मतगणना अघि बढाउने तयारी गरेको छ।
ताप्लेजुमा एमालेका तर्फबाट क्षीतिज थेवे, नेपाली कांग्रेसका तर्फबाट गजेन्द्र प्रसाद लिम्वू र रास्वपाका विरेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् ।