विराटनगर ९ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टी पुनर्गठन र रुपान्तरणको उद्देश्यसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी गराउनु भएको छ । उहाँले पार्टीका सबै कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।
पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफ्नै मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुने अपेक्षा लिएको उल्लेख गर्नुभएको छ ।
साथै, उहाँले पार्टी अध्यक्षलाई अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि अनुरोध गर्दै पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वाेपरि मानेर अघि बढ्नु आजको आवश्यकता भएको समेत बताउनुभयो ।