माेरङ ६ का उनेपाका उम्मेदवार बुढाथोकी एमाले प्रवेश

विराटनगर १७ फागुन । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी समीकरण अप्रत्याशित मोडमा पुगेको छ ।

उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका युवा उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा (एमाले)का उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

आइतबार बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारिएको घोषणा गर्दै उनी एमाले प्रवेश गरेका छन् ।

कार्यक्रममा एमाले उम्मेदवार विनाेद ढकालसहित, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतलगायतले बुढाथोकीलाई पार्टीमा स्वागत गरेका छन् । बुढाथोकीले आफू अब उम्मेदवारका रूपमा क्रियाशील नरहने स्पष्ट पार्दै आफूलाई साथ र समर्थन गर्ने सम्पूर्ण मतदातालाई एमालेका उम्मेदवार ढकाललाई सहयोग गर्न आग्रह गरे ।

‘यो क्षेत्रको विकासका लागि एमालेको विकल्प देखिएन,’ उनले भने, ‘विगतमा एमालेले जित्दा क्षेत्रमा देखिने खालको काम भएको छ । अरूले जित्दा क्षेत्रगत विकास ओझेलमा पर्यो । त्यसैले अब विकासको निरन्तरताका लागि विनोद ढकाललाई जिताउन सक्रिय हुनुपर्छ ।’ मोरङ–६ मा यसपटकको निर्वाचन दलीय प्रतिस्पर्धामा सीमित नभई पुस्तागत प्रतिस्पर्धाको प्रतीकसमेत बनेको थियो ।

एकातर्फ नेपाली कांग्रेसका प्रभावशाली नेता एवं अनुभवी राजनीतिज्ञ ७५ वर्षीय डाक्टर शेखर कोइराला चुनावी मैदानमा छन् भने अर्कोतर्फ एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मजदुर नेता ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुविना आचार्यसहित १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यही पृष्ठभूमिमा सबैभन्दा कान्छा उम्मेदवारका रूपमा प्रस्तुत भएका वसन्त बुढाथोकीको उम्मेदवारी फिर्ताले नयाँ राजनीतिक माहोल सिर्जना गरेको छ ।

२५ वर्षीय बुढाथोकीलाई आम मतदाताले जेनजी उम्मेदवारका रूपमा चिन्दै आएका थिए । बुढाथोकीले आफू जनताको समस्या समाधानका लागि राजनीतिमा सक्रिय हुने पनि बताए । उनले मनोनयन दर्तादेखि आफ्नो चुनावी अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत मतदातामाझ पुगिरहेका बुढाथोकीले युवाको सहभागिता र प्रणालीगत सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए । तर, अन्ततः उनले चुनावी प्रतिस्पर्धाबाट पछि हट्दै एमालेसँग सहकार्यको बाटो रोजेका छन् । अब आफूलाई समर्थन गर्ने आम मतदातालाई एमाले उम्मेदवार विनोद ढकाल जिताउने अभियानमा सक्रिय गराउने घोषणा उनले गरे ।

यो क्षेत्रमा कुल १ लाख ३७ हजार ८ सय ३२ मतदाता छन् । परम्परागत दलहरूको प्रभाव रहेको मोरङ–६ मा नयाँ शक्ति र युवा अनुहारको प्रवेशले चुनावी माहोल उत्तिकै तताएको छ ।