विराटनगर १७ फागुन । मोेरङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
आज नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे सुरक्षा प्रमुखहरु र निर्वाचन कार्यालयका प्रमुखले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका सहितका निर्वाचन सामग्री पुगिसकेका छन् ।
सोमबार (भोलिदेखि) मोरङका ३०६ मतदान स्थलका ८८८ मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारीहरु खटिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी दिनुभयो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतका लागि तालिम सम्पन्न भईसकेको छ ।
निर्वाचनमा खटिने ५ हजार ३४६ कर्मचारीले नियुक्तिपत्र लिईसकेका छन् । जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा रहने अस्थायी मतदान केन्द्रका लागि छुट्टै कर्मचारीको प्रवन्ध गरिएको प्रदेश निर्वाचन अधिकारी दंगालले बताउनुभयो । मतदान सम्पन्न भएलगत्तै मतगणनाको योजना पनि अघि बढाईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ तारजाली घेरेर, सिसि टिभी राखेर मतगणनाको लागि तयारी शुरु गरिएको छ ।’
यस पटक मोरङका ६ वटै क्षेत्रको मतगणना अलग–अलग स्थानमा हुने भएको छ । यसअघि मोरङका ४, ५ र ६ को आदर्श मावि र अन्य क्षेत्रको सम्वन्धित क्षेत्रमा मतगणना हुँदै आएको थियो । प्रदेश निर्वाचन अधिकारी दंगालका अनुसार क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, २ को विश्वनाथ मन्दिर सिजुवा, क्षेत्र नं. ३ को बेलबारी ३ स्थित भगवती मावि, क्षेत्र नं. ४ को जनता नमुना मावि विराटनगर, क्षेत्र नं. ५ का सुनसरी–मोरङ सिंचाई आयोजनाको कार्यालय र क्षेत्र नं. ६ का आदर्श माविमा मतगणना हुनेछ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको दिनका लागि मतदाता, मतदान सामाग्री, मतपेटिक, कर्मचारीको सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी सात हजार ८५१ जना एकीकृत सुरक्षा याजना अनुसार परिचालन गरिएको जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटुवालले एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सामगाग्री र मतपेटिकाको सुरक्षाका लागि आवश्यक परेमा ‘व्यालेटको सुरक्षाको लागि वुलेट ’समेत प्रयोग गर्न सकिने बताउनु भयो । ब्यालेट कसैले खोस्न खोजे गोली चल्ने उहाँले बताउनुभयो ।
सुरक्षाका दृष्टिले अतिसंवेदनशिल, संवेदनशिल र सामान्य गरि बर्गिकरण गरिएका मतदान केन्द्रहरुमा सोही अनुारको सुरक्षा प्रवन्ध गरिएको उहाँले बताउनुभयो । मतदान मोरङको सहायक प्रमुख जिल्ला अधिकारी अनुमगन अधिकृत सरोज कोइराला, कोष तथा लेखा नियान्त्रण कार्यालयका प्रमुख तथा अनुगमन अधिकृत तोमनाथ उप्रेतीले आचार संहिताको पालनमा सचेत र सजग रुपमा कार्यान्वयन गराएको बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले आचारसंहिता उल्लंघनका घटनाहरुबारे उजुरी आउनासाथ स्पष्टीकरण सोधिएको बताउनुभयो । अनुगनम अधिकृत उप्रेतीले मोरङका ११० जना उम्मेदवार मध्ये ६० जनाले मात्रै निर्वाचन खर्चका लागि बैंक खाता सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् ।