एमाले राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४३ जना प्रतिनिधि हुने

विराटनगर ४ मंसिर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ४३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।

महाधिवेशनका लागि आयोजक बाहेक भूगोलबाट सो संख्यामा प्रतिनिधि छनौट गरिने भएको हो ।

राष्ट्रिय महाधिवेशनका लागि देशभर एकै दिन मंसिर १३ गते प्रतिनिधि छनौट गरिदैछ ।

संघीय ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट ४३ जना प्रतिनिधिहरुले सहभागिता जनाउने एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुशार खुल्ला प्रतिष्पर्धाबाट २० जना, महिला प्रतिनिधि १३ जना, यूवा प्रतिनिधि ७ जना र दलित प्रतिनिधि ३ जना चयन गरिने छ ।

मोरङ १ बाट ४ खुल्ला, २ महिला र १ यूवा, क्षेत्र नं. २ बाट ३ खुल्ला, २ महिला र १ यूवा, क्षेत्र नं. ३ बाट ४ खुल्ला, ३ महिला, २ यूवा, क्षेत्र नं. ४ बाट २ खुल्ला, २ महिला र १ यूवा, क्षेत्र नं. ५ बाट ४ खुल्ला, २ महिला र १ यूवा, क्षेत्र नं. ६ बाट ४ खुल्ला, २ महिला र १ यूवा प्रतिनिधि चयन हुने केन्द्रीय सदस्य घिमिरेले बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिका लागि आकांक्षीहरुको संख्या अधिक भएकाले सवै क्षेत्रमा निर्वाचन हुने अवस्था देखिएको बताईएको   छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तरगत १ हजार २ सय पार्टी सदस्यहरु बराबर ४० वर्षमुनीका एक र कम्तिमा एक जना महिला सहित ४ जना प्रतिनिधिहरुने व्यवस्था रहेको छ ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुँदैछ ।