एमाले कोशीद्धारा ५ नेतालाई कारवाही

विराटनगर ३ मंसिर । नेकपा एमाले कोशी प्रदेशले विभिन्न जिम्मेवारीमा रहेका ५ नेताहरुलाई कारवाही गरेको छ ।

कोशी प्रदेश कमिटीको विराटनगर सम्पन्न नवौं पूर्ण बैठकले प्रदेश कमिटी सदस्य द्वारीकलाल चौधरी (सुनसरी)ले पार्टी नीति र नेतृत्व प्रति अनास्था फैलाउने अराजक खालका गतिबिधि सामाजिक सञ्जाल र विभिन्न मिडियामा प्रचारबाजी गर्ने गरेको र यसो नगर्न सम्झाउदा समेत नटेर्ने गरेको हुँदा कमिटीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

चौधरीको पार्टी सदस्यता ६ महिना निलम्बन गर्ने, त्यसैगरि बद्रीविशाल पोखरेल (सुनसरी) र काशीनाथ दंगाल (सुनसरी)लाई सामाजिक सञ्जाल र सार्वजनिक ठाउँमा पार्टीहित विपरित गतिविधि गरेकाले स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ ।

प्रदेश सल्लाहकार सदस्य मनोरथ तिवारी (झापा) ले निरन्तर पार्टी विरोधि गतिविधिमा संलग्न रहेको र ध्रुब सिवाकोटी(झापा) नैतिक पतन हुने अभियोगमा अदालतबाट दोषी ठहर गरी जेलसजाय भएकोले दुबैजनालाई पदमुक्त गरिएको छ ।

नेकपा एकिकृत समाजबादीबाट नेकपा (एमाले) मा प्रबेश गरेका मणी भण्डारी (झापा), मानसिंह पोखरेल (संखुवासभा) र संघिय समाजवादीबाट एमाले प्रवेश गरेका धर्मराज राई (धनकुटा)लाई कोशी प्रदेश कमिटी सदस्यमा मनोनयन गर्ने प्रदेश पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गरिएको अन्तर कमिटी निर्देशनमा उल्लेख छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको नाममा नेकपा (एमाले) कोशी प्रदेश कमिटी र मोरङ जिल्ला कमिटीको संयुक्त रुपमा रहेको विराटनगर पाञ्चाली स्थित कार्यलय पूर्णरुपमा क्षति भएकोले कार्यालय भवन पुनः निर्माण, कार्यालय व्यवस्थापन र असोज १८, १९ मा आएको अविरल बर्षाको कारण ईलाम, पाँचथर, खोटाङ, उदयपुर, झापा लगायतका जिल्लाहरुमा धेरै जनधनको क्षति भएकाले सो स्थानमा पुनःनिर्माण र राहतका लागि सहयोग संकलन गर्ने निर्णय बैठकले गरेको छ ।

सहयोगका लागि विभिन्न जिम्मेवारीमा रहेकाहरुलाई सोही अनुशारको सहयोगका लागि रकम निर्धारण गरएको छ । सो सहयोग मंसीर १० गतेभित्र रकम पठाउनका लागि निर्देशन पनि दिईएको छ ।

प्रदेश कमिटी बैठकले प्रदेशसभा सदस्यहरूका लागि जनही ५ हजार, पालिका प्रमुखहरूका लागि ५ हजार, पालिका उपप्रमुखहरूका लागि ४ हजार, भूमि आयोगका अध्यक्षका लागि २० हजार, सदस्यका लागि १५ हजार, अन्य राजनीतिक नियुक्ती पाएकाहरुलाई १० हजार, जिल्ला समन्वय प्रमुखहरूलाई ५ हजार, जिल्ला समन्वय उपप्रमुखहरूलाई ४ हजार, प्रदेश कमिटी सदस्यहरूलाई न्यूनतम ३ हजार बुझाउनु पर्ने प्रदेश कमिटीले जारी गरेको अन्तर कमिटी निर्देशनमा उल्लेख छ ।

कार्यालय भवन पुनः निर्माण, कार्यालय व्यवस्थापन, राहतका लागि २०/२० हजारका दरले २१ जनाले रकम पार्टीमा बुझाईसकेको समेत बताईएको छ । २० हजारका दरले सहयोग गर्नेहरुमा बाबुराम–थापा तेह्रथुम, उमेश डालमिया–झापा, पर्शुराम बस्नेत–मोरङ, अरूण राठी–मोरङ, राजकुमार गिरी – सुनसरी, लिलम बस्नेत – सुनसरी, पासाङ शेर्पा–ताप्लेजुङ, घनेन्द्र योङया–झापा, सुमन नेम्बाङ – झापा, डि बी कार्की–मोरङ, रमेश पोखरेल–मोरङ, मनोज अग्रवाल– मोरङ, महेश किराँती – सोलुखम्बु, . अम्बीरबाबु गुरूङ– ओखलढुङा, नानीबाबु बुढाथोकी – ओखलढुङा, डा भेषराज थापा उदयपुर, ज्ञानेन्द्र श्रेष्ठ– उदयपुर, कुमार भूजेल – झापा, तिर्थराज घिमिरे – मोरङ, नागेश पोखरेल–मोरङ, ज्ञानबहादुर खडका रहनु भएको छ । सन्तोष खतिवडा–ताप्लेजुङ १० हजार सहयोग गरेको बताईएको छ ।

प्रदेश कमिटी बैठकमा १४ वटै जिल्लाहरुले बैठक, भेला, सदस्यता प्रमाणित, महाधिवेशन प्रतिनिधि संख्या साथै कात्तिक २२, २५ र २९ गतेको कार्यक्रमको समिक्षा मा केन्द्रीत रहेर जिल्ला कमिटीका अध्यक्षले जिल्लागत रिपोर्टिङ गरेका थिए ।