माओवादी नेतृत्वको सरकारका कारण देशमा व्यथिति मौलायो : नेता कोइराला

विराटनगर २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोपसमेत लगाउनुभयो । सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उहाँको टिप्पणी थियो । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने नेता कोइरालाले दाबी गर्नुभयोे । “सरकारसँग जनता निराश भएका छन् । जताततै व्यथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,” उहाँले भन्नुभयोे, “जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।” नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताउनुभयो ।

कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क थियो । आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भन्नुभयोे, “लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसित दलको नेता फेर्ने संख्या छैन ।” नेता कोइरालाले कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो । पहिचानवादीहरुसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उहाँले सुझाव दिनुभयो । “कोशी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

नेता कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसेल प्रकरण हुनै नसक्ने ठोकुवा गर्नुभयोे । “एनऐलमा एक–दुई अर्ब होइन अर्बौं अर्ब घोटाला भएको छ,” कोइरालाले भन्नुभयोे, “यति ठूलो घोटालामा राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना हुनै सक्दैन । कस–कसको संलग्नता छ भनेर विस्तारै अनुसन्धानले खुल्दै जाला ।”