कोशी प्रदेशमा एक वर्षमा एक हजार बढीद्धारा आत्महत्या

विराटनगर १९ साउन । कोशी प्रदेशमा आर्थिक वर्ष ०७९–८० मा एक हजारभन्दा बढी मानिसले आत्महत्या गरेका छन ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार प्रदेशभर गत आर्थिक वर्षमा एक हजार ५ सय ५० जनाले आत्महत्या गरेका हुन । वर्षभरि ८ हजार ७ सय १९ वटा अपराधका मुद्दा दर्ता भएको बताएका प्रदेश प्रहरी प्रमुख बास्तोलाका अनुसार दर्ता भएका मुद्दामा २ हजार ७ सय ७३ वटा फस्र्र्याेट भएको र ५ हजार ९ सय ४६ मुद्दा फस्र्र्याेट हुन बाँकी छ । त्यसैगरी, उनले वर्षभरि ३ सय ६५ जनाको सवारी दुर्घटनामा मृत्यु भएको जानकारी दिए। प्रदेशभर भएका ३ हजार ५ सय ३२ वटा ठूला–साना सवारी दुर्घटनामा ५ हजार ६ सय ६९ जना मानिस घाइते भएको उनको भनाइ छ । प्रदेश प्रहरी प्रमुख बास्तोलाका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघनमा ३ लाख १ हजार ७ सय ४९ सवारी कारबाहीमा परेको र ३ सय ५२ वटा मुद्दा दायर भएको छ । प्रहरीले २३ करोड ४८ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।

प्रहरीले भन्सार चोरी निकासी पैठारीतर्फ २६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । भन्सार छली गरी निकासी–पैठारी गर्ने क्रममा सय जनालाई पक्राउ गरेको जनाएका प्रहरी प्रमुख बास्तोलाले भन्सार र आन्तरिक राजस्वतर्फ २६ करोड ९८ लाख ३८ हजार ९ सय ८० रुपैयाँ संकलन भएको जानकारी दिए।प्रहरीले नदीजन्य उत्खननका क्रममा ७४ जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी प्रमुख बास्तोलाका अनुसार प्रदेशका विभिन्न नदी तथा खोलामा अवैध रुपमा उत्खनन् गरेका ४ वटा जेसिभीसहित ३ सय ३७ वटा सवारीसाधनमाथि कारबाही गरेको छ । नदीजन्य उत्खननका क्रममा प्रहरीले ३९ लाख २८ हजार ५ सय ३५ रुपैयाँ संकलन गरेको छ । प्रहरीले गत वर्ष काठ बरामद गर्ने क्रममा एक करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ ।

काठ बरामद गर्ने क्रममा ३८ जनालाई पक्राउ गरेको जनाएको प्रदेश प्रहरी कार्यालयले ५ हजार ९ सय १ क्युफिट काठसहित १ करोड ३१ लाख ४५ हजार ३ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको हो ।