विराटनगर २८ मंसिर । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखरामा विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘पोखरा सडक महोत्सव’ यस वर्ष डिसेम्बर २८ देखि सुरु हुने भएको छ ।
विराटनगरमा आज पत्रकार सम्मेलनमा पोखरा सडक महोत्सवबारे जानकारी दिइएको हो । आयोजकले अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा सहभागी हुन पूर्वेलीलाई निम्तो दिएका छन् ।
यसपटक २७औं संस्करणको यो महोत्सव डिसेम्बर २८ देखि पोखराको लेकसाइडमा पाँच किलोमिटर क्षेत्रमा पाँच दिनसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक वसन्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुशार अंग्रेजी नयाँ वर्षको स्वागतमा लक्षित यो महोत्सव ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडक मै रमाऔं’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो ।
कोभिड–१९ महामारी लगायत विभिन्न राजनीतिक तथा विपत्तिका समयमा पनि पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्ने र पोखरालाई विश्वसामु प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न हरेक वर्ष निरन्तर महोत्सव आयोजना हुँदै आएको संयोजक गौतमले बताउनुभयो ।
महोत्सवले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने, पोखराको पहिचान, संस्कृति, खानपान र आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षक गन्तव्यका रूपमा चिनाउने आयोजकले लक्ष्य लिएको छ ।