विराटनगर २१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि नेकपा एमाले मोरङले प्रारम्भिक चरणमा पार्टी सदस्य सम्म पुग्ने काम गरिरहेको छ ।
विभिन्न तहका ६ तहका निर्वाचन परिचालन कमिटी अहिले परिचालित छन् । केन्द्रीय सदस्य तथा मोरङ जिल्लाका इन्चार्ज ऋषिकेश पोखरेलको नेतृत्वमा केन्द्रीय तहको निर्वाचन परिचालन कमिटी सक्रिय छ । यस कमिटीमा केन्द्रीय सदस्यहरु, आयोगका सदस्यहरु, पूर्व केन्द्रीय सदस्यहरु लगायत रहेका छन् । त्यसैगरि जिल्ला अध्यक्ष अजम्वर राई नेतृत्वको जिल्ला स्तरिय अर्को कमिटी छ । केन्द्रीय सदस्य पोखरेल र जिल्ला अध्यक्ष राई नेतृत्वको कमिटीले जिल्लाको समग्र क्षेत्रको परिचालनको काम गरिरहेको छ ।
क्षेत्रीय निर्वाचन कमिटीका संयोजकत्वमा क्षेत्रीय स्तरको निर्वाचन परिचालन कमिटी रहेको छ । क्षेत्रीय कमिटी संयोजक बाहेक पूर्व मन्त्री, प्रदेश कमिटीका नेताहरु लगायतको नेतृत्वमा अलग्गै परिचालन कमिटीले काम गरिहेको छ । निर्वाचन क्षेत्र नं. १ मा डिल्ली शर्मा अधिकारी, २ मा रुपनारायण मिश्र, ३ मा राजमति इङ्नाम, ४ मा नरेश पोखरेल, ५ मा भूराज राई र ६ मा लालबाबु पण्डितको नेतृत्वमा निर्वाचन परिचालन कमिटीले काम गरिरहेको छ । यस बाहेक पालिका कमिटीका अध्यक्षको नेतृत्वमा पालिका स्तरको र वडा कमिटीका अध्यक्षको नेतृत्वमा वडा स्तरको निर्वाचन परिचालनको काम भईरहेको केन्द्रीय सदस्य पोखरेलले बताउनुभयो ।
नेकपा एमालेले मोरङमा चुनावी अभियानलाई तीव्र पारेको केन्द्रीय सदस्य पोखरेलले बताउनुभयो । आगामी माघ २५ गते सम्म कमिटी प्रणाली अन्र्तगतका भेला, बैठक, कार्ययोजना, उम्मेदवारका सम्पर्क कार्यालय स्थापना लगायतका काम सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँका अनुसार निर्वाचन परिचालन कमिटी बाहेक उम्मेदवारले मनोनयन दर्तापछि नियमित घरदैलो, भेटघाटका कार्यक्रमहरु गरिरहेका छन् । पार्टी सदस्य सम्म पुगेर राजनीतिक, वैचारिक र सांस्कृतिक जागरण ल्याउने काम भईरहेको नेता पोखरेलले बताउनुभयो । पार्टीको आन्तरिक ‘मेसेनेरी’ चुस्त बनाएर फागुन ४ गते पछि देखि टोल– टोलमा चुनावी अभियान केन्द्रीत हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘पार्टी केन्द्रको घोषणा पत्र, उम्मेदवारको प्रतिबद्धता पत्र लिएर निर्वाचन आयोगको कार्यतालिका अनुशारको प्रचार प्रसार, चुनावी सभाका कार्यक्रम फागुन ४ गतेदेखी अघि बढ्ने का काम हुने छ ।’
मोरङमा उम्मेदवारका विषयमा प्रश्न उठाउने ठाउँ नभएकाले पार्टी एक ढिक्का भएर चुनाव प्रचारप्रसारमा केन्द्रीत रहेको केन्द्रीय सदस्य पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘ उम्मेदवारसँग विवादित विषयबारे मतदाताले प्रश्न गर्ने ठाउँ नै छैन । मोरङमा राजनीतिक, सामाजिक, आर्थिक, विकास निर्माणबारे प्रश्न गर्न ठाउँमा नेकपा एमाले छ ।’