जंगली जनावरको बढ्दो प्रकोप र यूवा जनशक्ति विदेश पलायनसँगै खाध्यान्न बाली लगाउने जमिनको क्षेत्रफल घट्दो

विराटनगर, २८ मंसिर । बाँदर लगायत जङ्गली जनावरहरुको बढ्दो प्रकोप र युवा जनशक्तिको विदेश पलायनसँगै कोशी प्रदेशमा पछिल्ला वर्षहरुमा प्रमुख खाद्यन्न बाली लगाउने जमिनको क्षेत्रफल घट्दै गएको छ ।

कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरले सार्वजनिक गरेको विगत चार आर्थिक वर्षको कृषि बाली सम्बन्धी तथ्याङ्कले प्रमुख खाद्यन्न बालीको रुपमा रहेको धान, मकै, गहुँ, कोदो र जौ बाली लगाउने जमिनको क्षेत्रफल घट्दै गएको देखाएको छ ।

  1. फापर बाली लगाउने जमिनको क्षेत्रफल भने केही विस्तार भएको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७८–०७९ मा तीन लाख ७६ हजार ९५२ हेक्टर जमिनमा धान बाली लगाइएको थियो । २०७९–०८० मा तीन लाख ३२ हजार ६१७ हेक्टर र २०८०–०८१ मा थप घटेर तीन २४ हजार ४०१ हेक्टरमा धान बाली लगाइएको थियो । गत आर्थिक वर्ष २०८१–०८२ मा भने अघिल्लो आर्थिक वर्षको तुलनामा धान बाली लगाइएको जमिनको क्षेत्रफलमा केही बृद्धि भएर तीन लाख २८ हजार १८२ हेक्टर पुगे पनि तीन वर्ष अघिको हाराहारीमा पुग्न नसकेको कृषि निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।

धान बालीकै जस्तै प्रमुख खाद्यन्न बालीको रुपमा रहेको मकै खेती लगाइने जमिनको क्षेत्रफलमा पनि सुधार हुन सकेको छैन । आर्थिक वर्ष २०७८–०७९ मा दुई लाख ९२ हजार ९९१ हेक्टरमा मकै बाली लगाएको थियो । २०८१–०८२ मा दुइ लाख ७७ हजार १६६ हेक्टरमा मकै बाली लगाईएको छ । मकैबाली गत आर्थिक वर्षको तुलनामा बढेपनि तीन वर्ष अघिको हाराहारीमा पुग्न सकेको छैन ।

आर्थिक वर्ष २०८०–०८१ को तुलनामा आर्थिक वर्ष २०८१–०८२ मा धान र मकै बाली लगाइने जमिनको क्षेत्रफलमा भएको थोरै सुधारलाई सामन्य रुपमानै लिनुपर्ने कोशी प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले बताउनुभयो ।

कोशी प्रदेशको मुख्य खाद्यन्न बालीको रुपमा रहेको गहुँ, कोदो र जौ खेतीको क्षेत्रफल पनि क्रमशः घटेदै गएको छ । कृषि निर्देशनालयका अनुसार कोशी प्रदेशमा आर्थिक वर्ष २०७८÷०७९ मा ६२ हजार ५६१ हेक्टर क्षेत्रफलमा गहुखेती लगाएको थियो । आर्थिक वर्ष २०८१–०८२ मा ५१ हजार ६३५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको कृषि विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

कोदो खेती लगाइने जमिनको क्षेत्रफल पनि वर्षेनी घट्दै गएको छ । कोशी प्रदेशमा आर्थिक वर्ष २०७८–०७९ मा ६६ हजार १४९ हेक्टर जमिनमा कोदो खेती गरिएको थियो । २०८१–०८२ मा ५७ हजार २७४ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो ।

जौ खेतीको क्षेत्रफल पनि वर्षेनी घट्दै गएको छ । आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ३५१ हेक्टर क्षेत्रफलमा जौ खेती गरिएको थियो । २०८१–०८२ मा मा ९८६ हेक्टर क्षेत्रफलमा मात्रै जौ खेती गरिएको छ ।

खाद्यन्न बालीको रुपमा रहेको फापर बाली लगाइने जमिनको क्षेत्रफल भने केही बढ्दो अवस्थामा देखिन्छ । आर्थिक वर्ष २०७८–०७९ मा दुई हजार ८९६ हेक्टर क्षेत्रफलमा फापर खेती गरिएको थियो । तर पछिल्लो वर्षहरुमा फापर खेती लगाइने जमिनको क्षेत्रफल केही बढेको देखिन्छ । २०८१÷०८२ मा दुई हजार ८९७ हेक्टर क्षेत्रफलमा फापर खेती गरिएको थियो ।

वर्षेनी खाद्यन्न बाली लगाइने जमिनको क्षेत्रफल घट्दै जानुमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुनु, कृषिजन्य बालीको मूल्यमा स्थिरता नहुनु, कृषि क्षेत्रलाई राज्यले उपेक्षा गर्नु र पहाडी क्षेत्रमा बाँदर लगायतका जङ्गली जनवारको कारण मानिसहरुले खाद्यन्न बाली लगाउन छाड्नु प्रमुख कारण रहेको विराटनगर स्थत महेन्द्र मोरङ क्याम्पस विराटनगरका अर्थशास्त्र विषयका उपप्रध्यापक नन्द न्यौपाने बताउनु हुन्छ ।