विराटनगर २८ मंसिर । नेकपा एमाले केन्द्रीय सदस्य युवराज बास्कोटाले काठमाण्डौंमा जारी ११ महाधिवेशन मार्फत पुन : केन्द्रीय कमिटीमा दोहोरिने मन गरेका छन् । एक कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी पुरा गरेका उनले पुन : केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।
भारत प्रवासमा पार्टी सम्बद्ध जनसंगठनको नेतृत्व लिएर लामो समयसम्म प्रवासी नेपाली समुदायमाझ तिनको हकअधिकारको विषयमाथि बहस र पैरवी गर्दै आएका बास्कोटाले पार्टीको छैटौँ राष्ट्रिय महाधिवेशनयता निरन्तर भाग लिँदै आएका छन् ।
नियमित र औपचारिक अध्ययनसँगै अभानेस्ववियु र प्रवासी नेपाली संघ भारको अध्यक्ष र महासचिवको भूमिकामा रहँदै संगठनात्मक जिम्मेवारी पूरा गर्न बास्कोटाले आफ्नो उर्बर उमेरको झण्डै २० वर्ष भारतमै बिताए । यसबीचमा अञ्चल कमिटी सोसरहको जिम्मेवारीमा रहेर राजनीतिक–बैचारिक र संगठनात्मक क्षेत्रको कामको नेतृत्वसमेत गरेका छन् ।
लेखन, सहजीकरण र राजनीतिलाई एकसाथ अघि बढाएका बास्कोटा पूर्णकालीन कार्यकर्ताको रूपमा पार्टी काममा अग्रसर रहँदै आएका छन् ।