भोजपुरका एमाले उम्मेदवार शेरधन राइको प्रतिबद्धता पत्र सार्वजनिक

भोजपुर, १२ फागुन । नेकपा (एमाले) को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राईले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

नेकपा (एमाले) का सचिव समेत रहेका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेट्नु भएको छ । उम्मेदवार राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै भोजपुरका सडक र पुलहरू सम्पन्न गर्ने तथा तथा नयाँ सडक र पुलहरुको निर्माणलाई तीव्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

टक्सार बजारको पुरानो ऐतिहासिकता झल्कने गरी सम्पदायुक्त सुन्दर बजारको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेका छन् भने मध्यपहाडी राजमार्गसँग जोडिएका मुख्य बजारकेन्द्रहरू र सबै पालिका केन्द्रमा रहेका मुख्य बजारहरूको ढल निकास तथा व्यवस्थापनसहित व्यवस्थित बजारको रुपमा विकास गर्ने योजना समेत राईले अगाडि बढाएका छन् । छरपष्ट र जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माण तथा व्यवस्थापनका लागि आवश्यक पहल समेत गर्ने समेत उहाँको योजना छ ।

किसानमुखी कृषि नीति निर्माणमा जोड दिएका राईले कृषिका लागि सिँचाइ सुविधा, मल बीउबिजनको उपलव्धता, प्रविधि र प्राविधिक सहयोग उपलव्ध गराई कृषि उत्पादनबाटै घर घरमा आम्दानी र घर घरमा आत्मनिर्भर र रोजगारी सृजना गर्दै जिल्लालाई समृद्ध बनाउने योजना अगाडि सारेका छन् । किसानहरूका लागि ठूलो समस्याको रुपमा रहेको बाँदर आतंक नियन्त्रणका कुरा समेत प्रतिबद्धता पत्रमा उल्लेख छ ।

उच्च मूल्यका खाद्यान्न, फलफूल, जडिबुटी, चिया, कफी, अलैंची अदुवा, रुद्राक्ष, बोधिचित्तलगायतको उत्पादनमा विशेष जोड दिँदै आवश्यक नीति बनाउन पहल गर्ने राईको अठोट छ । गाँजाको व्यावसायिक खेती गर्नका लागि विद्यमान कानुन संशोधन गर्ने पहल गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ ।

पर्यटन प्रवद्र्धनका लागि मुन्दुम पदमार्गलाई थप विस्तार गर्दै संसारकै आकर्षक पर्यटकीय पदमार्ग बनाउन पहल गर्ने उहाँको योजना छ । भोजपुरले जन्माएका कला, साहित्य, भाषा र संस्कृतिका अग्रज र नवस्रष्टाहरूको कदर र सम्मान गर्दै “भाषा कला र संस्कृतिको शान, नवस्रष्टाको कदर, पुर्खा र इतिहासको सम्मान“ भन्ने नाराका साथ स्थानीय भाषा साहित्य तथा कला र संस्कृतिहरूको संरक्षण गर्न उनको बाचा छ ।

युवा लक्षित सामूहिक उधमशीलता कार्यक्रम र युवा आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न पहल गर्ने लगायतका युवा लक्षित कार्यक्रम प्रतिबद्धता पत्रमा समेटिएका छन् । जिल्ला अस्पताललाई गुणस्तरीय उपचार सेवाका लागि थप सुविधा र आधुनिक उपकरणको जडान गरी सेवालाई प्रभावकारी बनाउने योजना रहेको छ ।

पालिका तहमा बनेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा तत्काल आधुनिक उपकरण, दक्ष जनशक्तिसहितको सेवा सञ्चालन गर्न पहल गर्ने लगायतका विषय स्वास्थ्य सँग समेट्नु भएको छ । शिक्षक तथा सरोकारवालाहरूसँग भएको विगतका सम्झौताहरूको आधारमा नयाँ संघीय शिक्षा÷विद्यालय शिक्षा ऐन जारी गर्दै शिक्षाको गुणस्तरमा एकरुपता ल्याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता राईले सार्वजनिक गर्नुभएको छ ।