विराटनगर, १२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दलीय गठबन्धन अन्र्तगत नेपाली कांग्रेसले आउँदो निर्वाचनमा कम्तीमा एक सय सिट लिएर प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकामा शनिबार आयोजित एकदिवसीय तालिम तथा प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले निर्वाचनमा कम्तीमा एक सय सिट लिएर गठबन्धनसंगै निर्वाचनमा जान सकिने बताउनु भएको हो । कार्यक्रममा नेता कोइरालाले मुलुक प्रतिकुल अवस्थामा रहँदा गठबन्धन स्वीकार्दै निर्वाचानमा होमिनुपरेको बताउनु भयो । तर कांग्रेस कमजोर नभएको र एक्लै निर्वाचनमा जान सक्ने पनि उहाँको भनाइ छ ।
एकीकृत समाजवादी र एमाले एकै हुँदा तथा माओवादीसंग तालमेल गरेर २०७४ सालको निर्वाचनमा जाँदा समेत नेपाली कांग्रेसले निर्वाचनमा प्रतिस्पर्धा गरेको उहाँले बताउनु भयो । डा. कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने प्रस्ट पार्नु भयो । उहाँले गठबन्धनमा रहेका पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्र सिट बाडँफाट गरिनुपर्नेमा जोड दिनु भएको । नेता कोइरालाले भन्नु भयो, ‘अन्य दलले हामीलाई धेरै सिट चाहियो भन्नु भयो भने उहाँहरुले जित्ने अवस्था छ कि छैन हेर्नुपर्ने हुन्छ ।
२०७४ सालमा एमाले, समाजवादी, माओवादी मिलेर अगाडि बढेका थिए । कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो ।’ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्वआमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।