विराटनगर १२ मंसिर । नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन् ।
सर्वसम्मत हुने प्रतिनिधिहरुमा खुल्लामा ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, दिलिप बगडिया, महिलामा उषा झा र शान्ता डंगोल, यूवामा मो. हमिद आजाद रहनु भएको छ ।
सर्वसम्मत हुनेहरुमा बगडिया, डंगोल संस्थापन र राजवंशी, अग्रवाल, झा र आजाद संस्थापन इतर समूहका हुन ।
निर्वाचन समितिले औपचारिक रुपमा भने सर्वसम्मत हुनेहरुको नाम सार्वजनिक गरेको छैन । यसअघि सो क्षेत्रबाट १४ जनाले मनोनयन दर्ता गराएका थिए ।
मोरङ ५ बाहेक अन्य क्षेत्रमा भने निर्वाचनबाट प्रतिनिधि चयन हुने भएका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम समय सम्म क्षेत्र नं. १, २, ३, , ६ र दलित क्षेत्रमा निर्धारित कोटाभन्दा बढी उम्मेदवार कायम रहेको निर्वाचन समितिले जनाएको छ ।
मंसिर २७–२९ सम्म हुने महाधिवेशनका लागि शनिबार देशभर एकैदिन प्रतिनिधि चयन गरिदैछ ।