महाधिवेशन प्रतिनिधि छनौटका लागि माेरङमा भाेलिदेखि निर्वाचन प्रकृया शुरू हुदै

विराटनगर, ७ मंसिर । नेकपा एमाले मोरङले पार्टीको ११ औ महाधिवेशनको प्रतिनिधि छनौटका लागि साेमबार ( भाेलि) देखि निर्वाचन प्रकृया शुरू गर्दै छ ।

महाधिवेशन प्रतिनिधि छनौटका लागि मंसिर ८ गते मतदाता नामावली प्रकाशन, ९ गते उम्मेदवार मनोनयन दर्ता, ११ गते विहान ११ः बजेसम्म मतदाता र उम्मेदवार उपर दावी बिरोध, सोही दिन दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता तथा उम्मेद्वार र मतदाताको अन्तिम नामावली प्रकाशन, १३ गते बिहान ८ बजे देखि मतदान सुरु गरिने कार्यक्रम रहेको छ । १३ गते देशभर एकैदिन प्रतिनिधि छनाैट गरिदैछ ।

एमाले माेरङले अधिवक्ता गणेशराज लुइँटेलको संयोजकत्वमा नौ सदस्यीय जिल्ला स्तरीय निर्वाचन समिति गठन गरेको छ ।

निर्वाचन समित संयोजक लुइँटेलले जिल्ला भूगोलको संंयोजन गर्ने छन भने अन्य सदस्यहरुलाई निर्वाचन क्षेत्रका आधारमा जिम्मेवारी तोकिएको छ ।

महेश खड्का निर्वाचन क्षेत्र नं १, विश्वराम भट्टराई निर्वाचन क्षेत्र नं २, गणेश दाहाल, निर्वाचन क्षेत्र नं ३, बालकृष्ण आचार्य निर्वाचन क्षेत्र नं ४, राजेश सुब्बा निर्वाचन क्षेत्र नं ५, डिल्ली घिमिरे निर्वाचन क्षेत्र नं ६, खेम पोखरेल दलित तथा पेशगत निर्वाचन क्षेत्र र ओम सुवेदीलाई पेशागत समन्वय क्षेत्रको जिम्मेवारी तोकिएको छ ।

महाधिवेशन प्रतिनिधिमा मनोनय दर्ता गर्ने उम्मेद्वारलाई दुई हजार रुपियाँ मनोनयन शुल्क तोकिएको छ ।

महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको केन्द्रीय कमिटीले संघीय निर्वाचन क्षेत्रलाई एउटा भूगोल इकाइ मानेको हुँदा सोही आधारमा निर्वाचन क्षेत्र भित्रका पार्टी सदस्यहरुको अनुकुल हुने गरी पार्टीका प्रत्येक संघीय निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरुलाई यही मङ्सिर ८ गते भित्र मतदान केन्द्र निर्धारण गर्न पार्टी जिल्ला कमिटीले निर्देशन गरेको छ ।

क्षेत्रीय समन्वय कमिटीले निर्धारण गरेका मतदान केन्द्रमै महाधिवेशन प्रतिनिधि छनोैटको उम्मेद्वारी मनोनयन देखि मतदान सम्मको प्रक्रिया सम्पन्न गर्नुपर्ने छ ।

दलित उम्मेदवारको मनोनयन भने पार्टी कार्यालय, पाञ्चाली, बिराटनगरमा मङ्सिर ९ गते दिउँसा ३ बजे सम्म गर्नुपर्ने व्यवस्था गरिएको छ । दलित प्रतिनिधिको निर्वाचन सबन्धित भूगोलको निर्वाचन केन्द्रमा बेग्लै बुथमा हुनेछ । दलित मतदाताको हकमा मतपत्र पनि बेग्लै हुने व्यवस्था गरिएको छ

पेशागत क्षेत्रका मतदाताको हकमा निर्वाचन क्षेत्र नं ४ र क्षेत्र नं ६ मा छुट्टै बुथ राखिने छ ।

शिक्षकहरूको हकमा भने सम्बन्धित भूगोलको मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । पेशागत र शिक्षकहरूको मतदान क्षेत्रीय निर्वाचन प्रमुख र क्षेत्रीय समन्वय कमिटीको संयोजकमार्फत बिशेष व्यवस्थामा गरिने छ ।

निर्वाचन प्रक्रियामा सहभागी हुन आउदा मतदाताहरूले आफ्नो परिचय खुल्ने परिचयपत्र (पार्टी सदस्यता परिचयपत्र, नागरिकता, लाइसेन्स वा राष्ट्रिय परिचयपत्र) लिएर आउनुपर्ने छ ।

यो व्यवस्था पेशागत र शिक्षक मतदातको हकमा फरक पर्न सक्ने छ ।

११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७-२९ सम्म काठमाडौंमा   हुदैछ ।