विराटनगर ५ मंसिर । नेकपा एमाले मोरङले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनौटका लागि निर्वाचन कमिटी गठन गरेको छ ।
विराटनगरमा आज बसेको सचिवालय बैठकले अधिवक्ता गणेश लुइँटेलको ९ सदस्यीय निर्वाचन कमिटी गठन गर्ने निर्णय गरेको हो ।
सचिवालय बैठकले निर्वाचन व्यवस्थापनको जिम्मेवारी निर्वाचन क्षेत्रीय कमिटीलाई दिने निर्णय गरेको छ ।
मोरङमा महाधिवेशन प्रतिनिधि छनौटका लागि मंसिर ८ गते मतदाता नामावली प्रकाशन गर्ने, मंसिर ९ गते प्रतिनिधिसभाका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता, मंसिर ११ गते अन्तिम नामावली प्रकाशन र मंसिर १३ गते मतदानको कार्यसूची तय भएको केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले जानकारी दिनुभयो ।
महाधिवेशनका लागि मोरङबाट ४३ जना प्रतिनिधि चयन हुने छन् । खुल्लाबाट २० जना, महिलाबाट १३, यूवा ७ र दलित ३ जना चयन हुने केन्द्रीय सदस्य घिमिरेले बताउनुभयो ।
सचिवालय बैठकमा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घिमिरे, कोशी प्रदेश अध्यक्ष घनस्याम खतिवडा लगायतले बोल्नु भएको थियो ।
एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७-२९ सम्म काठमाण्डौंमा हुँदैछ ।