विराटनगर १ मंसिर । नेकपा (एकीकृत समाजवादी)को विराटनगर महानगर कमिटी नेकपा (एमाले)मा समाहित भएको छ ।
पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’अन्तर्गत विराटनगरमा सोमबार बसेको एमाले कोशी प्रदेश कमिटीको नवौं पूर्ण बैठकमार्फत एकीकृत समाजवादीको सिंगो महानगर कमिटी एमालेमा समाहित भएको हो । पार्टीका महानगर अध्यक्ष वीरेन्द्र यादवसहितको पार्टी कमिटी एमालेमा फर्किएको जनाइएको छ । साथै, एकीकृत समाजवादीका नेताहरु उद्धव पोखरेल, किशोर शाहीलगायत पनि एमालेमा फर्किएका छन् ।
एमालेले केन्द्रीय स्तरमा विभिन्न समयमा पार्टी परित्याग गरी अन्य राजनीतिक दलमा गएका नेता कार्यकर्तालाई पुनः पार्टीमा सक्रिय गराउने उद्देश्यले सञ्चालित ‘घर फर्क राष्ट्रिय अभियान’अन्तर्गत एकीकृत समाजवादीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेले बताउनुभयो ।
घिमिरेले समाजवादीको विराटनगर महानगर कमिटीसहित कोशी प्रदेश कमिटी र मोरङ जिल्ला कमिटीका नेताहरू समेत पुन : एमालेमा समाहित भएको जानकारी दिनुभयो । एमालेमा समाहित भएका एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य डा. उद्धव पोखरेलले एमाले आफूहरूको समेत रगत र पसिना परेको घर भएकोले केही समय घर बाहिर रहे पनि पुनः फर्किएको बताउनुभयो । उहाँले आफूहरू केही समय पार्टीसँग रिसाएर पार्टी बाहिर रहेपनि पुनः नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारमा समाहित हुन पाउँदा खुसी लागेको बताउनुभयो । पार्टीमा समाहित भएकालाई स्वागत गर्दै एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टीमा लामो समय खटिएका नेताहरू पुनः एमालेमा आउँदा पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो ।
खतिवडाले अहिलेको परिदृश्यमा देशमा लोकतन्त्रलाई बलियो पार्न एमालेबाहेकको विकल्प नरहेको उल्लेख गर्नुभयोे । ‘घर फर्क अभियान’अन्तर्गत एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य , जिल्ला कमिटी सदस्य र सिंगो महानगर कमिटी गरेर झन्डै ८० भन्दा बढी नेताहरू एमालेमा समाहित भएको एमाले महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो ।
गिरीले एमालेको केन्द्रीय महाधिवेशनअघि एकीकृत समाजवादीको मोरङका अन्य पालिका कमिटी समेत एमालेमा समाहित हुने बताउनुभयो ।