विराटनगर २५ कात्तिक । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
अर्जुन साह र रकीप्रसाद साह समेतले सोमबार दायर गरेको रिटमा सर्वाेच्च अदालतले यस्तो आदेश दिएको सर्वाेच्च अदालतका सहरजिष्ट्रार समेत रहेका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम २ को खण्ड क बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी भएको हो ।
रिट निवेदनको विषयवस्तु संवेदनशील, सार्वजनिक महत्वको संवैधानिक प्रद र छिटो छरितो ढुंगो लगाउनु पर्ने प्रकृतिको देखिँदा कुनै पनि पक्षले पेशी स्थगित गर्न नपाउने गरी सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई अन्तिम सुनुवाईको लागि आगामी मंसिर ११ गते बोलाइएको छ ।
साथै मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा मंसिर १० गतेभित्र लिखित जवाफ पेश गर्न पनि आदेश भएको छ ।
यसैवीच मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्नु भएको छ । असहज परिस्थितिका बाबजुद उहाँले मधेश भवन छिरेर आज पदभार ग्रहण गर्नु भएको हो । यादवले पदभार ग्रहण गरिरहँदा सात राजनीतिक दलका सांसद तथा नेता कार्यकर्ताहरूले मधेश भवन आगाडि नाराबाजी गरिरहेका थिए ।