एमाले मोरङ अधिवेशन : पदाधिकारीमा क-कस्को दावी ?

विराटनगर १८ फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन विराटनगरमा जारी छ । शनिबार उद्घाटन भएको अधिवेशनको आजदेखि बन्द शत्र शुरु हुँदै छ ।

सोमबार देखि निर्वाचन प्रकृया शुरु हुने छ । एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने निश्चित छ । संस्थापन पक्ष र इतर समूहवीच पदाधिकारी सहित प्यानलगत नै प्रतिष्पर्धा हुने नेताहरुको भनाई छ । इतर समूहको नेतृत्व विनोद ढकालले गर्नु भएको छ ।

संस्थापन समूहबाट अध्यक्षमा बाबुराम कार्की र राजकुमार ओझा मध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरिएको छ । अध्यक्षको उम्मेदवार टुङ्गो लाग्न सकेको छैन । उपाध्यक्षमा शान्ति लिम्वु, सचिवमा रविन थापा उम्मेदवार हुने करिव निश्चित छ । उपसचिवमा टुङ्गो लाग्न सकेको छैन । उपसचिवमा शिल्पा निराला कार्की र मेघनाथ कट्टेल लगायतका केही नेताहरुको दावी देखिएको छ ।

इतर समूहबाट अध्यक्षमा अजम्वर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा राई र उषा झा उम्मेदवार बन्ने निश्चित भएको छ ।
इतर समूहले उम्मेदवार टुङ्गो लगाएर मत माग्न शुरु गरिसकेको छ । संस्थापन पक्षलाई उम्मेदवार टुङ्गो लगाउन नै समस्या भएको इतर समूहका एक नेताले बताए । इतर समूहबाट अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका राईले आफु सहितको सहमति भए मात्रै सर्वसम्मत हुने बताए । उनले भने,‘ म प्रतिष्पर्धा गर्ने तयारीका साथ उम्मेदवारी दिने तयारीमा छु ।’

संस्थापन समूहबाट राजकुमार ओझालाई उम्मेदवार बनाउन खोजेपनि बाबुराम कार्की ‘व्याक’ हुन चाहेका छैनन् । पार्टी अध्यक्ष सहितका नेताहरुको सर्मथन आफुमा रहेको उनको भनाई छ । संगठन कमिटीमा बसेर छोटो समयमा पनि पार्टीलाई गतिशिल बनाएको उनले बताए ।