सडक, खानेपानी, स्वास्थ्य र रोजगारी मुख्य प्राथमिकता : ढकाल

विराटनगर २३ माघ । नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले सडक, खानेपानी, स्वास्थ्य र रोजगारी मुख्य प्राथमिकता रहेको बताउनु भएको छ ।

बुढीगंगा क्षेत्रको आधारभूत समस्या समाधानलाई आफूले पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । बुढीगंगा गाउँपालिका–६ बौराहामा आयोजित स्थानीयसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सडक, खानेपानी, स्वास्थ्य र रोजगारीका मुद्दालाई आगामी योजनामा समेट्ने प्रतिबद्धता जनाउनु भएको हो । बौराहाका स्थानीयवासीले कच्ची सडक, शुद्ध खानेपानीको अभाव र स्वास्थ्य सेवामा पहुँच नभएको भन्दै उम्मेदवार ढकालसँग गुनासो गरेका थिए ।

स्थानीयले सामान्य उपचारका लागि पनि विराटनगर जानुपर्ने बाध्यता रहेको र भित्री सडकहरू वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्या सुनाएका थिए । किसानहरूले सिँचाइ र कृषि उपजको बजार व्यवस्थापनको माग समेत राखेका थिए ।

जनताका गुनासा सुनेपछि ढकालले विकासको केन्द्र नै जनता भएको उल्लेख गर्दै स्थानीय आवश्यकता अनुसारका योजना अघि बढाउने स्पष्ट पार्नुभयो । ‘बौराहाको विकास मेरो प्राथमिकता हो, सडक, खानेपानी, स्वास्थ्य र रोजगारीलाई पहिलो स्थानमा राखेर योजनाबद्ध रूपमा काम गर्नेछु,’ ढकालले भन्नुभयो । उहाँले करिब ४० वर्षदेखि मोरङको सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहेकाले आफू जनताका लागि सहजै भेटिने जनप्रतिनिधि बन्ने विश्वास दिलाउनुभयो ।

अन्तरक्रियामा सहभागीहरूले ढकालको संवादमुखी स्वभाव र विकासप्रतिको प्रतिबद्धताप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। स्थानीय युवाहरूले रोजगारीका अवसर सिर्जना गर्न र शिक्षाको गुणस्तर सुधार्न उम्मेदवार ढकाललाई विशेष आग्रह गरेका थिए ।