निर्वाचनमा ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका बन्द गरिने

विराटनगर २४ माघ । सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका बन्द गर्ने भएको छ ।

माघ २३ गते मोरङको विराटचोकमा सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल बीचको १६औं डीआईजीस्तरीय समन्वय बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सीमा सुरक्षा, सूचनाको आदानप्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो ।

त्यसैगरी सीमा क्षेत्रका संभावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्यांकन गर्ने, शरणार्थी र आप्रवासीहरूको गतिविधिमा निगरानी राख्ने, विभिन्न तह बनाई प्रहरी जाँच र ब्यारिकेड खडा गरिने छ ।

आपराधिक तत्वहरूबाट हुनसक्ने घुसपैठ कडाईका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्नेलगायत विषयमा समेत छलफल भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको रेखा नभई मित्रताको प्रतीक रहेको बताएका थिए । भारतीय एसएसबीका डीआईजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा सशस्त्र प्रहरी महानिरीक्षकहरु अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापालगायत भारतीय एसएसबीको तर्फबाट डीआईजी सरोजकुमार थाकुर, मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिस कुमारको समेत उपस्थिति रहेको थियो ।