एचआईभी सम्वन्धी भेदभाव अवहेलना तथा हिंसा रोक्न सरोकारवालावीच अभिमुखीकरण

विराटनगर १५ जेठ । एचआईभी सम्वन्धी भेदभाव अवहेलना तथा हिंसा रोक्न सरोकारवालावीच दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वस्थ समाजको लागि हाम्रो अभियान नेपाल विराटनगरको आयोजना तथा स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटाको सहकार्यमा दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एचआईभी कार्यक्रम र सेवा, एचआईभीको अवस्था र लक्षित समूह, एचआईभी, विभेदीकरण र अबहेलनाका विषयमा सञ्जीव चापागाँइले सहजीकरण गर्नुभएको थियो । हिंसा तथा मनोविमर्श सेवा, मनोविमर्श सेवाको आवस्यकताबारे गीताञ्जली शर्मा, मानव अधिकार र कानुनका विषयमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका निर्देशक पवन भट्ट, एचआईभी र स्वास्थ्यका विषयमा स्वास्थ्य निर्देशधनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले सहजीकरण गर्नु भएको स्वस्थ समाजको लागि हाम्रो अभियान नेपालका सचिव नवराज निरौलाले जानकारी दिनुभयो ।

यसअघि सोमबार कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्र्कीले स्वास्थ्य समस्या कै कारण कसैलाई विभेद गर्नु संविधानविपरित भएकाले यसलाई नियन्त्रण गर्न कानुनआवश्यक परे प्रदेश सरकारले कानुन ल्याउने बताउनु भएको थियो । एचआईभी संक्रमितहरुले अझै पनि समाजमा अवहेलना, विभेद र भेदभाव भोग्नु परिरहेकोले सामाजिक सचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाई छ । मन्त्री कार्कीले आगामी बजेटमा स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताए ।

कार्यक्रममा सहभागिहरुले एचआईभी संक्रमितमात्र नभई कोही कसैलाई जातिय, क्षेत्रीय, लैंगिक वा आर्थिक रुपमा विभेद गर्न नपाइने संवैधानिकहक अधिकारको पालनागर्नुपर्ने बताएका थिए । सहभागिहरुले अझै पनि समाजमा सचेतना नभएका कारण रोगमा विभेद हुने गरेको बताए ।

समापन कार्यक्रममा स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेत, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका निर्देशक पवन भट्ट, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा पन्त, नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारी, मानव अधिकार सञ्जाल विराटनगरका संयोजक विनोद पोखरलले एचआईभी सम्वन्धी भेदभाव अवहेलना तथा हिंसा रोकथामका लागि सचेतनामुलक कार्यक्रम र प्रचार प्रसारमा जोड दिनुभएको थियो ।