सरकारी र निजी अस्पतालकोवीचमा सरकारले नै फरक व्यवहार गरेको गुनासो

विराटनगर, १६ चैत्र । सरकारी र निजी अस्पतालको विचमा सरकारले नै फरक व्यवहार गर्ने गरेको निजी अस्पतालका संचालकहरुले बताएका छन् ।

शुक्रबार विराटनगरमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मोरङले आयोजना गरेको स्वास्थ्य क्षेत्रको समस्या र समाधानका उपायहरु विषयक अन्तक्रिर्या कार्यक्रममा अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा राज्यले ध्यान दिन नसक्दा संविधानले प्रत्याभूत गरेको स्वास्थ्यको आधारभूत अधिकार जनताले प्राप्त गर्न नसकेको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

सहभागिहरुले सरकारी स्वास्थ्य संस्थाहरुले तोकिएको सेवा दिन नसकेको बेला निजी क्षेत्रको स्वास्थ्य संस्थाहरुको सहयोग लिन नसकिएको गुनासो गरेका थिए । उनीहरुले स्वास्थ्य सेवालाई सरकारले स्वास्थ्य विमाको माध्यमबाट जनताको पहुँचमा र्पुयाउने प्रयास गरेको भएपनि पर्याप्त नभएको र यसका लागि निजी स्वास्थ्य संस्थाहरुको सहयोग लिनुपर्ने बताए ।

सो कार्यक्रममा स्वाथ्य सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विराट मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सरकारले ल्याएको स्वास्थ्य विमाले सर्व साधारणलाई उपचारमा राम्रो सेवा पुर्याएकोले स्वास्थ्य विमा कार्यक्रम ठुला अस्पतालहरु र मेडिकल कलेजहररुमा संचालनमा ल्याउनु पर्ने धारणा राखे । जिल्ला प्रशासन कार्यालय मोरङको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा सहभागिहरुले स्वास्थ्य सेवालाई बढी प्रभावकारी बनाउन स्थानीय तहहरुलाई थप साधन स्रोत उपलब्ध गराउनुपर्ने बताए ।

सहभागिहरुले स्थानिय तहमा स्वास्थ्य क्षेत्रको ठुलो समस्या रहेकोले ठुला अस्पतालहरु केन्द्रको संचालनमा रहने भएकाले साना अस्पतालहरुमा चाहिने जति सुविधा नहुदा उपचारको लागि टाडा जानुपर्ने बाध्यता रहेको बताए । उनिहरुले हरेक पालिकामा २५ बेड भन्दा ठुला अस्पतालहरु संचालनमा ल्याउनु पर्ने धारणा राखे ।

सो कार्यक्रममा मोरङ जिल्लाका विभिन्न पालिकाहरुका प्रमुख,उपप्रमुख,अध्यक्ष,उपाध्यक्ष साथै पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु र विभिन्न मेडिकल कलेजका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि र नागरिक समाजको सहभागिता रहेको थियो ।