‘वन क्षेत्रलाई रोजगारीसँग जोडेर लैजानुपर्छ’ : मुख्यमन्त्री कार्की

विराटनगर, २५ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताउनु भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।

प्रदेश सरकारको सबै भन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि बन मन्त्रालयबाट राजस्व योगदान कम रहेको उहाँको भनाइ छ । ‘प्रदेश भित्रका धेरै सामुदायिक बनहरुले राजस्वमा योगदान पुर्याई रहेको चर्चा गर्दै त्यस्ता सामुदायिक बनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने बताउनुभयो । ‘प्रदेश भित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकी क्षेत्रकारुपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ’– मुख्यमन्त्री कार्कीले भन्नुभयो ।

सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले बनलाई पर्यटनसँग जोडेर लैजादा निजी क्षेत्रलाई पनि सँगसँगै लैजान आवश्यक रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । उहाँले खुल्ला चिडिया खानाको अवधारण बारे बन मन्त्रालयले गरिरहेको अध्ययन आगमी आर्थिक वर्ष २०८०/०८१ भित्र सकेर अर्को आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गर्ने वतावरण बनाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य, मन्त्रालयका सचिव डा. संजीवकुमार राई लगायतले बोल्नु भएको थियो ।