विराटनगर २५ माघ । कोशी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक विराटनगर स्थित बीरेन्द्र सभागृहमा आजदेखि शुरु भएको छ ।
सभामा सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशका प्रदेश प्रदेश प्रमख परशुराम खापुङ्गवाट प्राप्त अधिवेशन आव्हान सम्वन्धी पत्र एवं प्रदेश मन्त्रीपरिषद गठन सम्बन्धी पत्रहरुको व्यवहोरा वाचन गरेर सदनलाई जानकारी दिनुभयो ।
सभामुख बिष्टले प्रदेश सभाको सदस्यको स्थान रिक्त सम्बन्धमा जानकारी गराउनु भयो । यस्तै निर्वाचन आयोग नेपालवाट पार्टी एकीकरण सम्बन्धमा प्राप्त पत्र वाचन गर्नुभयो ।
सभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले वैठक प्रारम्भ भएकोमा शुभकामना दिंदै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै दलहरुलाई आग्रह गर्नु भयो । उहाँले मुलुकलाई समृद्धि, सुशासन, भ्रष्टाचारको अन्त्यका लागि दलहरुको एकताको विकल्प नरहेको धारणा राख्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी ससदीय दलका नेता प्रेमराज थाङसुहाङले कोशी प्रदेश राष्ट्रिय सभाको निर्वाचनको मतदानको दिन आफु काठमाण्डौमा रहेको अवस्थामा आफ्नो मत खसेको जानकारी संचारमाध्यमबाट प्राप्त हुँदा अत्यन्त चिन्ता व्यक्त्त गर्दै उक्त कार्य प्रति आपत्ति जनाउँदै भत्र्सना गर्नु भयो ।
नेपाली कम्यूनिष्ट पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर आङवोले प्रदेशको वर्तमान मन्त्रिपरिषदले सुशासन कायम राख्न भूमिका निर्वाह गर्ने आशा व्यक्त्तगर्नुभयो ।
नेकपा एमाले संसदीय दलका उपनेता तीलकुमार मेयाङवोले मुलुकको लोकतन्त्रलाई सुदृढ गर्न दलहरुवीच एकतावद्ध हुनु जरुरी रहेको धारणा राख्नुभयो । उहाँले मुलुक एवं प्रदेश संविधान एवं प्रदेश कानुन अनुसार संचालन गर्नुपर्ने सुझाव दिनु भयो ।
सभामुख विष्टले प्रदेश सभाको अर्काे बैठक माघ २६ सोमबार दिउँसो १ बजे वस्ने सदनलाई जानकारी दिनु भयो ।