नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

विराटनगर २५ माघ । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन ।

१८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले लगत्तै छैटौं ओभरमा कुशल भुर्तेललाई पनि गुमायो । भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २९ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।

बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।