विराटनगर २४ वैशाख । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेश सवैको गौरव भएको बताउनु भएको छ । उहाँले कोशी प्रदेशलाई साझा पहिचानका रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो ।
आईतबार विहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कोशी प्रदेश धर्मसँग नजोडिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ कोशी प्रदेश ठिक छ । सगरमाथा भईदिएको भए पनि राम्रै हुन्थ्यो ।’ सवैको सहमति कोशी प्रदेश नामकरणमा भएकाले यस विरुद्ध लाग्नु आवस्यक नभएको बताउनुभयो ।
अध्यक्ष नेपालले ‘कोशी प्रदेश’ नामकरणले सबै जातजाति, भाषा धर्म र संस्कृतिलाई समेटेको समेत दाबी गरेका छन् । कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले उपेक्षित भएको महसुस नहुनेगरी प्रदेश सरकारले काम गर्नुपर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
एकिकृत समाजवादी पार्टी स्रोतका अनुसार पूर्व मुख्यमन्त्री तथा पार्टी संसदीय दलका नेता राजेन्द्र राई बाहेकका सदस्यहरूलाई बोलाएर कोशी प्रदेश विरूद्धको गतिविधिमा संलग्न नहुन अध्यक्ष नेपालले निर्देशन दिनु भएको छ ।