प्रदेशले नाम पायो, अव संरचना निर्माणमा लाग्छौं : मुख्यमन्त्री कार्की

विराटनगर २४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण टुङ्गीएसँगै सरकारको ध्यान संरचना निर्माण तर्फ भएको बताउनु भएको छ । संवैधानिक व्यवस्था अनुसार दुई तिहाई बढी सांसदको समर्थनमा नामकरण टुङ्गीएसँगै पहिलो कार्यकालमा सम्पन्न हुन नसकेको काम सकिएको उहाँले बताउनुभयो ।

आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजधानी टुङ्गो लागेपनि संरचनाहरु निर्माण नभएको दृष्टान्त प्रस्तुत गर्दै अब प्रदेश सरकारका आवश्यक संरचनाहरु कहाँ निर्माण हुन्छन् भन्ने कुराको सन्देश दिने गरी आगामी वर्ष भित्र संरचना निर्माणको काम सुरु गर्छौ भन्नुभयो । ‘पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालय, मन्त्रालयहरु र प्रदेश सभाको कार्यालय निर्माण हुन्छन् र त्यसका लागि केही तयारी भइरहेको छ’ – मुख्यमन्त्री कार्कीले भन्नुभयो । उहाँले कोशी प्रदेश नामकरणका सन्दर्भमा भइरहेका विरोध कार्यक्रमहरु प्रति लक्षित गर्दै आफ्ना असहमतिहरु शान्तिपूर्ण रुपमा राख्न अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘आफ्ना विचारहरुको बारेमा विभिन्न फोरमहरुमा छलफल गराउनु होस, यो विरोधलाई आफ्नो सङ्गठन निर्माणसँग जोड्नु होस र आगामी निर्वाचनमा आवश्यक बहुमत ल्याएर नाम परिवर्तन गर्नुहोस ।’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार माध्यममा आउने समाचारमा एकरुपता हुनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो– ‘एउटै घटनाका बारेमा जतिवटा मिडिया हेर्यो उति किसिमका समाचार आएका हुन्छ, यस्ता कुराले जनतामा भ्रम सिर्जना गर्छ, त्यसैले विचारमा आफ्नो मत जाहेर गरेपनि समाचारमा एकरुपता हुनुपर्छ ।’ उहाँले प्रदेश सरकारले गरेका विकास निर्माण, सुशान र नीतिगत सुधारको खुलेर प्रचार गरिदिन र खराव कामको आलोचना गर्न पनि आमसञ्चार क्षेत्रलाई अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पत्रकारहरुको क्षमता अभिवृद्धि, पत्रकारिता क्षेत्रको संस्थागत विकास र अध्ययन अनुसन्धानका कार्यालाई अगाडि बढाउन तयार रहेको स्मरण गराउँदै त्यसको लागि आगमी आर्थिक वर्ष भित्र आवश्यक कानून निर्माण गरी प्रदेश स्तरीय सञ्चार प्रतिष्ठान गठनको काम अगाडि बढाउने जानकारी गराउनु भयो । कार्यक्रममा कोशी प्रदेश सरकारले प्रदेश भित्रका चारजना अग्रज पत्रकारहरु सोमनाथ अधिकारी सुशेली, राजेश विद्रोही, चन्द्रकला ( अम्बिका ) भण्डारी र सटेन्द्र जबेगुलाई एक लाख रुपियाँ राशिको ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ र सम्मान पत्र मार्फत पुरस्कृत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरे, पुरस्कृत व्यक्तित्व सोमनाथ सुशेली र चन्द्रकला भण्डारीले पनि पत्रकारिता क्षेत्र मर्यादित र जिम्मेवार हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।