विराटनगर १८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रमिक वर्गको अधिकारका लागि निर्माण भएका ऐन कानून पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनु भएको ।
१३४ औं विश्व मजदुर दिवसको अवसरमा आज विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीविमा शुभकामना सन्देश दिनुहुन्दै मुख्यमन्त्री कार्कीले सो प्रतिबद्धता जनाउनु भएको हो । सन्देशमा उहाँले भन्नुभएको छ ‘श्रमजीवीवर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ लगायतका विभिन्न ऐन कानूनहरुको निर्माण भएका छन् । सरकारी तहबाट निर्माण भएकाती ऐन कानूनहरुको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशीप्रदेश सरकार पूर्णरुपमा प्रतिवद्ध छ ।’
सम्पूर्ण श्रमिजीवी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गदै मुख्यमन्त्री कार्कीले नेपालीश्रमिक र तिनका प्रतिनिधि टे«ड युनियनहरुलाई श्रमिकहरुको हकहित संरक्षणका निम्ति संगठित र एकतावद्ध भएर अघि बढ्न सफलता मिलोस भन्ने कामना पनि गर्नु भएको छ ।
वि.स. २००७ सालमा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरहरुले प्रजातन्त्रको बिगुल फुकेको स्मरण गर्दै उहाँले नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्याएको योगदान प्रति विशेष सम्मान प्रकट गर्नुभएको छ ।