लेटाङ घटना, ६३ जनामाथि अनुसन्धान हुँदै

विराटनगर, २५ चैत । महिला प्रहरीको हत्या, विद्यालय र सवारीसाधनमा तोडफोड, आगजनी तथा आक्रमण गरिएको मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा हालसम्म ६३ जनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।

पक्राउ गरिएका ६३ जनामध्ये २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताउनु भयो । ४३ जना विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरिएको उहाँको भनाइ छ । लेटाङ नगरपालिका–५ को शिक्षा विकास मध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा–७ मा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको घटनाले उग्ररुप लिँदा चैत ६ गते विद्यालय रणमैदान बन्यो ।

घटनामा महिला प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भयो । उत्तेजित भीडले विद्यालयका शिक्षक र प्रहरीलाई आक्रमण गर्नुकासाथै विद्यालय तथा सवारीसाधनमा तोडफोड र आगजनी गर्यो । छात्रालाई दुव्र्यवहार गरेको घटनामा संलग्न भनिएका शिक्षक पौडेलविरुद्ध पनि जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान भइरहेको एसपी कोइरालाले बताउनु भयो । घटनापछि विद्यार्थी, शिक्षक र अभिभावक त्रासमा हुँदा २ सातासम्म बन्द भएको ७ सय ४१ जना अध्ययनरत विद्यालयको पठनपाठन गत आईतबार देखि मात्रै सञ्चालनमा आएको छ ।

विद्यार्थी र शिक्षकलाई त्रासमुक्त बनाउन नगरपालिकासँग मनोपरामर्श कार्यक्रम सञ्चालनको माग गरिएको प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो । लेटाङ नगरपालिकाले पनि समुदायस्तर र विद्यालयमा मनोपरामर्श कार्यक्रम सञ्चालनको तयारी गर्दै छ । सबैलाई तनाव एवम् त्रासमुक्त बनाउन मनोपरामर्श कक्ष सञ्चालनका लागि नगरपालिकामा छलफल भइरहेको उपमेयर कृष्णकुमारी निरौलाले बताउनु भयो । उहाँका अनुसार हिंसात्मक घटनाको असर सबैमा परेपछि लेटाङलाई सामान्य अवस्थामा फर्कन निक्कै समय लाग्यो ।