आरती स्ट्रिप्सका सिनियर म्यानेजर मृत फेला

विराटनगर २४ फागुन । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रिप्स नामक उद्योगका सिनियर म्यानेजर मृत फेला परेका छन् ।

बूढीगंगा गाउँपालिका–१ स्थित उद्योगकै क्वाटरमा बस्दै आएका भारतको गाजियावाद घर भएका अन्दाजी ५५ वर्षीय राजीव शर्मा आइतबार बिहान ११ः१५ बजेतिर सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

अघिल्लो दिन बेलुका खाना खाएर सुतेका शर्मा भोलिपल्ट अबेरसम्म नउठेपछि साथीले कोठामा गएर हेर्दा घोप्टो परेर मृत्यु भएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

प्रहरी पुग्दा सुतेकै ओछ्यानमा घोप्टो परेको अवस्थामा शर्मा मृत फेला परेका थिए । तत्काललाई हेर्दा घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण पनि खुल्न सकेको छैन । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएर घटनाको थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण पत्ता लाग्ने छ ।

शर्मा विगत १५–१६ वर्षदेखि आरती स्ट्रिप्समा सिनियर म्यानेजर पदमा कार्यरत थिए ।

आरती स्ट्रिप्स पाइप तथा कर्कटपातासहित स्टिल र फलामजन्य सामग्री उत्पादन गर्दै आएको उद्योग हो ।