विराटनगर १८ पुस । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ । जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको डा शशांक कोइरालाले जानकारी दिनुभयो ।
पुस २६–२८ सम्मको महाधिवेशन तालिका प्रभावित भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेका थिए । महामन्त्रीहरू विशेषको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव पेस गर्नुभएको थियो ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।