विराटनगर ९ पुस । सरकारी कार्यालयमा विचौलियाको काम गरेको भन्दै मोरङ प्रहरीले दुई दर्जनबढीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलियाको काम गरेको भन्दै प्रहरीले २९ जनालाई पक्राउ गरेको हो । मालपोत कार्यालयबाट ९ जना र जिल्ला प्रशासन कार्यालयबाट २० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले जानकारी दिनुभयो । पक्राउ परेकाहरू लेखापढी व्यवसायी रहेका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका थिए । लेखापढीका नाममा सेवाग्राहीलाई हैरानी दिएको गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । लेखापढी व्यवसायीहरूले पक्राउको विरोध गरेका छन् । लेखापढी व्यवसायी संघ विराटनगरका अध्यक्ष कञ्चन न्यौपानेले प्रहरीले ज्यादती गरेको बताउनुभयो । आफूहरूलाई सरकारले नै काम गर्न अनुमति दिएर काम गरेको उहाँले बताउनुभयो ।