निर्वाचन पर्यवेक्षणका लागि ३१ संस्थालाई आयोगको अनुमति

विराटनगर १ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको पर्यवेक्षणका लागि ३१ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुमति दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले आयोगले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षणको जिम्मेवारी दिएको हो ।

निर्वाचन पर्यवेक्षणका लागि आयोगले आह्वान गरेपश्चात कुल ४८ वटा संस्थाबाट निवेदन प्राप्त भएको थियो। यसमध्ये ४४ वटा राष्ट्रिय र चार वटा अन्तर्राष्ट्रिय संस्थाहरूले निर्वाचन पर्यवेक्षण गर्न इच्छा देखाएका थिए । तीमध्ये तोकिएका आधार र प्रक्रिया पूरा गरेका २७ वटा राष्ट्रिय संस्थाहरू र चार वटा अन्तर्राष्ट्रिय संस्थाहरू गरी जम्मा ३१ वटा संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने निर्णय आयोगले गरेको छ ।

पर्यवेक्षणका लागि अनुमति पाएका राष्ट्रिय संस्थाहरूमा डेमोक्रेसी रिसोर्स सेन्टर, नेपाल, सामुहिक अभियान, नेपाल मानव अधिकार संगठन, युवा वकालत नेपाल, निर्वाचन पर्यवेक्षण समिति नेपाल, लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), संघीय बहसमा युवा, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल रहेका छन ।

यसैगरी, नेपाल मतदाता अधिकार मञ्च, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपाल, सुशासन महासंघ नेपाल, राष्ट्रिय व्यवसायिक पहल, महिला कानून र विकास मञ्च, बागेश्वरी असल शासन क्लब (बास), समृद्ध आधार नेपाल, कानूनी न्यायिक अध्ययन प्रतिष्ठान, महिला सेवा संस्था नेपाल, युवालय, विश्व उपभोक्ता महासंघ नेपाल, उन्नत नेपाल, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र सञ्चारिका समूह नेपालले पनि पर्यवेक्षण गर्नका लागि अनुमति पाएका छन् ।