विराटनगर २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावको वातावरण बनाउन नलागेको भन्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउनु भएको छ ।
एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा मन्तव्य राख्दै ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउनुभयो । ‘संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्छ । संसद्मार्फत संविधान संशोधन हुनुपर्छ । संसद् विघटन हुनुहुँदैन भनेर काम चलाउ प्रधानमन्त्रीको नाताले संवैधानिक बाटो देखाएको थिएँ । तर, देशलाई उल्टो दिशामा लगियो । बाहिरबाट सरकार गठन गरियो ।
अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरियो । असंवैधानिक सिफारिसबाट विघटन भयो,’ ओलीले भन्नुभयोे, ‘यो असंवैधानिक छ । गलत छ । जनताले चुनेका प्रतिनिधिहरूलाई घर फर्काउनु भनेको लोकतन्त्र कमजोर बनाउनु हो । प्रतिनिधिसभा विघटन मान्य छैन । असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना तुरुन्त हुनुपर्छ भन्ने हाम्रो अडान हो ।’ उहाँले फागुन २१ को चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश पाएको सरकारले चुनावी वातावरण बनाउने भन्दा बिथोल्ने दिशामा काम गरिरहेको बताउनुभयो । ‘के अहिले चुनावको तयारी भइरहेको छ ? देखिँदैन । चुनाव चाहने सरकार थियो भने सबै दलको विश्वास जित्दथो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सुरक्षित वातावरण बनाउँथ्यो ।
दललाई चुनावमा सहभागी गराउन वातावरण बनाउँथ्यो । निर्भयको वातावरण बनाउँथ्यो । लुटिएका प्रहरीका हतियार फिर्ता ल्याउँथ्यो । भागेका कैदबन्दीहरु फर्काउँथ्यो,’ ओलीले थपे, ‘तर, सरकारले मिडिया ट्रायल र राजनीतिक दलहरूकाविरुद्ध धम्की, नेताहरूको राहदानी रद्द र स्थान हद, निषेधाज्ञा गर्ने काम गरिरहेको छ । यसले दबाब र आतंक बढ्छ कि मतदानको सुरक्षा हुन्छ ? लोकतान्त्रिक प्रणाली र विधिद्वारा शान्तिपूर्ण वातावरणबाट चुनाव होस् भन्ने भनाइ हो । डर, दबाब र प्रतिशोधको छायाबाट चुनाव हुन्छ भन्ने एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ । तर, अहिले चुनाव हुँदै छ र ? होइन, चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै हुँदैछ ।
देशलाई अलमलाउनका लागि । त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ।’