जाँचबुझ आयोग सतर्क हुन जरुरी छ : पूर्णबहादुर खड्का

विराटनगर २७ मंसिर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताउनु भएको छ ।

भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा आयोजित नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै यस्तो बताउनुभएको हो । ‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन गठित उच्च स्तरीय न्यायीक छानबिन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भइ निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्दछ,’ कार्यवाहक सभापति खड्काले भन्न्ुभयो । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले लगाएको स्थानहदले धेरै प्रश्नहरू उब्जाएको पनि बताउनुभयो ।

कार्यवाहक सभापति खड्काले नागरिकको जीउ–धनको सुरक्षा जिम्मेवारी लिएका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने कार्य भएको भन्दै नागरिकको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरी उनीहरूको सर्वश्व खतम पारिएको बताउनुभयो ।

कार्यवाहक सभापति खड्काले लोकतन्त्रमाथि कुनै निरंकुशता वा अस्थिरताको कालो बादल मडारिँदा तत्कालै कांग्रेस, एमाले र अन्य लोकतान्त्रिक दलहरू एक ठाउँमा उभिएर परिस्थितिको डटेर प्रतिवाद गर्ने गरेको इतिहास पनि स्मरण गर्नुभयो ।