विराटनगर २७ मंसिर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै छ ।
जेनजी (नवयुवा) को आन्दोलनपछि हुन लागेको एमालेको ११ औँ महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुने र बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार पत्रकार सम्मेलन गरी एमालेले महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।
ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले भक्तपुुरमा उद्घाटन गरेर काठमाडौँमा बन्दसत्र हुने महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन हुने छ । महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा (एमाले) ले जनाएको छ ।
उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निस्किने छन् । ती जुलुस सल्लाघारीमा पुगेर उद्घाटन सभामा परिणत हुने छ । सिङ्गो काठमाडौँ उपत्यकाको कला, सामाजिक– सांस्कृतिक सभ्यता, परम्पराको प्रतिविम्बन जुलुसमा हुने एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक बनाउने छौँ,” एमालेले भक्तपुरमा पहिलो पटक महाधिवेशन उद्घाटन गर्दै छ ।
महाधिवेशनमा हुन सक्ने सवारी व्यवस्थापनलाई ध्यानमा राखेर एमालेले काठमाडौँतर्फबाट आउने सहभागीसहितका गाडीलाई गट्ठाघरमै रोक्ने तालिका बनाएको छ । त्यहाँबाट महाधिवेशन स्थलसम्म ३.१ किलोमिटर दुरी रहेको छ । त्यति दुरी जुलुससहित पुग्ने गरी व्यवस्थापन मिलाइएको देउजाले बताउनुभयो ।
पूर्वी नाका हुँदै आएका गाडी जगातीमै रोकिने छन् । त्यहाँ रहेका इँटाभट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको छ ।